प्रधानमन्त्री बालेनलाई राज्यमन्त्री जितिन प्रसादले गर्नेछन् स्वागत

काठमाडौं । भारतको दुईदिने राजकीय भ्रमणमा आइतबार नयाँदिल्ली पुग्ने प्रधानमन्त्री बालेन्द्र शाहलाई भारत सरकारका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने भएका छन् । प्रधानमन्त्री शाहलाई स्वागत गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वयं विमानस्थलमा नजाने भएका हुन् ।

नेपालस्थित भारतीय दूतावासका अनुसार प्रधानमन्त्री शाह आइतबार नेपाल वायुसेवा निगमको उडानबाट नयाँदिल्ली पुग्ने कार्यक्रम छ । उनलाई विमानस्थलमा भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री प्रसादले स्वागत गर्नेछन् ।

प्रधानमन्त्री बनेपछि शाहको यो पहिलो भारत भ्रमण हो भने पहिलो विदेश भ्रमणसमेत हो । भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा हुन लागेको यस भ्रमणलाई दुई देशबीचको सम्बन्ध र आर्थिक सहकार्यका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ ।

नयाँदिल्ली पुगेपछि प्रधानमन्त्री शाहले आइतबार साँझ भारतीय विदेशमन्त्री एस जयशंकरसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । त्यसपछि सोमबार राष्ट्रपति भवनमा उनलाई औपचारिक स्वागत तथा गार्ड अफ अनर प्रदान गरिनेछ ।

सोमबार नै प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्नेछन् । वार्तामा व्यापार, पारवहन, ऊर्जा, लगानी, पूर्वाधार विकास र सीमापार कनेक्टिभिटीका विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।

भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्रीले विभिन्न परियोजनाको उद्घाटन तथा नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रमसमेत छ । नेपाल–भारत आर्थिक तथा व्यावसायिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले बिजनेस फोरम पनि आयोजना हुनेछ ।

प्रधानमन्त्री शाहसँग अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनालसहित ३४ सदस्यीय सरकारी प्रतिनिधिमण्डल भारत जाँदै छ । निजी क्षेत्रका ५२ जना प्रतिनिधि पनि भ्रमणमा सहभागी हुनेछन् ।
 

Share News