स्वदेशमै लगानी, उद्यमशीलता र रोजगारीको वातावरण बनाउन ‘बिल्ड नेपाल एक्स्पो’: सुरज न्यौपाने

काठमाडौं । घरजग्गा तथा निर्माण क्षेत्र पछिल्लो समय विभिन्न आर्थिक तथा व्यावसायिक चुनौतीका कारण सुस्ताएको अवस्थामा यस क्षेत्रलाई नयाँ गति दिन एक्स्पो आयोजना गर्न लागिएको बिल्ड नेपाल एक्स्पोका संयोजक सुरज न्यौपानेले बताएका छन् । 

उनले घर निर्माण गर्न चाहने उपभोक्ता, निर्माण व्यवसायी, इन्जिनियर, आर्किटेक्ट, निर्माण सामग्री उत्पादक तथा विक्रेतालाई एउटै प्लेटफर्ममा जोड्दै लगानी र व्यावसायिक सम्भावनाको खोजी गर्नु एक्स्पोको मुख्य उद्देश्य रहेको बताए । उनका अनुसार घरजग्गा तथा निर्माण व्यवसायलाई केवल कारोबारको विषयका रूपमा नभई रोजगारी, लगानी र समग्र अर्थतन्त्रसँग जोडेर हेर्न आवश्यक छ ।

स्वदेशमै लगानीको वातावरण निर्माण गर्न सके विदेशमा रहेका नेपालीको सीप, अनुभव र पुँजीलाई समेत देशभित्र उपयोग गर्न सकिने उनको विश्वास छ । पछिल्ला वर्षमा आर्थिक मन्दी, लगानीको अभाव, वैदेशिक रोजगारीप्रतिको बढ्दो आकर्षण तथा व्यावसायिक वातावरणमा देखिएका चुनौतीले घरजग्गा र निर्माण क्षेत्र प्रभावित भएको छ ।

यस्तो अवस्थामा नयाँ प्रविधि, आधुनिक निर्माण सामग्री र सुरक्षित आवाससम्बन्धी जानकारी उपभोक्तासम्म पु¥याउँदै यस क्षेत्रका सम्भावना उजागर गर्ने लक्ष्य आयोजकले राखेको छ । एक्स्पोमा आधुनिक घर तथा आवास निर्माण सामग्री, प्रविधि, घरजग्गा तथा आवास परियोजना, निर्माण सेवा र विभिन्न सम्बन्धित उत्पादन तथा सेवाहरूको प्रदर्शनी गरिनेछ ।

साथै भवन संहिता, सरकारी मापदण्ड, निर्माणको गुणस्तर र सुरक्षासम्बन्धी जानकारीसमेत प्रदान गरिने आयोजकले जनाएको छ । एक्स्पोका क्रममा सरकारी निकायका प्रतिनिधि, निजी क्षेत्रका व्यवसायी, विषयविज्ञ, इन्जिनियर तथा उपभोक्ताबीच अन्तरक्रिया, परामर्श र छलफल कार्यक्रम सञ्चालन हुनेछन् । घरजग्गा खरिदकर्ता र विक्रेताबीच प्रत्यक्ष भेटघाट तथा व्यावसायिक सम्पर्क स्थापित गर्ने अवसरसमेत उपलब्ध हुनेछ । 

विशेषगरी पछिल्लो समय बाढीपहिरो तथा प्राकृतिक विपद्का घटनाले सुरक्षित आवास र व्यवस्थित बस्ती विकासको आवश्यकतालाई थप महत्वपूर्ण बनाएको छ । घर निर्माण गर्दा लागत, समय र गुणस्तर व्यवस्थापनमा उपभोक्ताले भोग्दै आएका समस्यालाई सम्बोधन गर्न पनि एक्स्पोले सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।

नेपालको महत्वपूर्ण आवास तथा निर्माण बजारका रूपमा विकास हुँदै गएको चितवनलाई केन्द्रमा राखेर आयोजना गर्न लागिएको एक्स्पोले चितवनसहित देशका विभिन्न सम्भावनायुक्त जिल्लामा लगानी प्रवद्र्धन गर्ने आयोजकको विश्वास छ ।

नारायणी जग्गा तथा आवास व्यवसायी संघ, भि ग्रुप र एसवन होम्सको संयुक्त आयोजनामा एक्स्पोको दोस्रो संस्करण आगामी मंसिर २५ देखि २७ गतेसम्म चितवनको भरतपुरस्थित चितवन उद्योग संघको एक्स्पो सेन्टरमा सञ्चालन हुनेछ ।

Share News