नेप्से ७.३८ अंकले घट्यो, ३ अर्ब ८८ करोडको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७.३८ अंकले घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन सामान्य अंकले बढेको बजार यस दिन भने घटेर बन्द भएको हो ।

शुक्रबार नेप्से परिसूचक ७.३८ अंक अर्थात् ०.२८ प्रतिशतले घटेको छ । यस दिन फ्लोट इन्डेक्स पनि ०.३१ अंकले घटेको छ । यद्यपि, सेन्सेटिभ इन्डेक्स र सेन्सेटिभ फ्लोट इन्डेक्स भने समान ०.०७ अंकले बढेका छन् ।

नेप्से घटे पनि कारोबार रकम भने सामान्य बढेको छ । बिहीबार ३ अर्ब ८७ करोड रुपैयाँको सेयर कारोबार भएको बजारमा शुक्रबार ३ अर्ब ८८ करोड ७५ लाख ६३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस दिन ३५२ वटा स्टकको ३९ हजार ९६६ पटकको कारोबारमा १ करोड ६ लाख २ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

शुक्रबार दोल्ती पावर कम्पनीको सेयरमूल्य सबैभन्दा धेरै ५.१४ प्रतिशतले बढेको छ । त्यस्तै, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको सेयरमूल्य ४ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । अन्य कम्पनीको सेयरमूल्य वृद्धि साढे ३ प्रतिशतभन्दा कम रहेको छ ।

यस दिन मुक्तिनाथ म्युचुअल फन्ड–२ को इकाइ मूल्य सबैभन्दा धेरै ८.५० प्रतिशतले घटेको छ । त्यस्तै, पाल्पा सिमेन्ट इन्डस्ट्रिजको सेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढीले घटेको छ ।

कारोबार रकमका आधारमा ग्लोबल आइएमई बैंक शीर्ष स्थानमा रहेको छ । बैंकको २० करोड २२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, लक्ष्मी सनराइज बैंकको करिब १५ करोड रुपैयाँ र रिलायन्स स्पिनिङ मिल्सको ११ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ ।

कारोबारमा आएका १३ उपसमूहमध्ये दुई उपसमूहको परिसूचक बढेको छ भने ११ वटाको घटेको छ । बैंकिङ र म्युचुअल फन्ड उपसमूहको परिसूचक सामान्य बढेका छन् । होटल तथा पर्यटन उपसमूहको परिसूचक भने सबैभन्दा धेरै १.३९ प्रतिशतले घटेको छ । 

Share News