आशुतोष इनर्जीले मंसिर १४ गतेदेखि आईपीओ बिक्री गर्ने, पहिलो प्राथमिकता कसलाई ?

काठमाडौं । आशुतोष इनर्जी लिमिटेडले मंसिर १४ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले जारी पुँजी ६० करोड रुपैयाँको २० प्रतिशत अर्थात् १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो । प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य रहेको उक्त सेयरमध्ये ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ ।

आयोजना प्रभावित क्षेत्रका लागि छुट्याइएको सेयरमध्ये ३ लाख कित्ता अति प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई बिक्री गरिनेछ । यसअन्तर्गत लमजुङको दूधपोखरी गाउँपालिका वडा नम्बर १ र २ तथा गोरखाको अजिरकोट गाउँपालिका वडा नम्बर २ र ३ का बासिन्दाले आवेदन दिन सक्नेछन् ।

त्यस्तै, बाँकी ३ लाख कित्ता अति प्रभावित क्षेत्रबाहेक दूधपोखरी गाउँपालिका, दोर्दी गाउँपालिका र अजिरकोट गाउँपालिकाका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ ।

यसैगरी, सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये १० प्रतिशत अर्थात् ६० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिने कम्पनीले जनाएको छ । नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीले उक्त सेयरमा आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले आईपीओमा छिटोमा मंसिर २८ गतेसम्म र ढिलोमा पुस १४ गतेसम्म आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने आवेदन दिने अन्तिम म्याद मंसिर १७ गते तोकिएको छ । उक्त अवधिसम्म पर्याप्त आवेदन नपरेमा निष्कासन अवधि मंसिर २८ गतेसम्म लम्बिने कम्पनीले जनाएको छ ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले ग्लोबल आइएमई बैंकको दोर्दी शाखा, हिमालयन बैंकको गौंडा शाखा, राष्ट्रिय वाणिज्य बैंकको भच्चेक शाखा र एनएमबि बैंकको बेसीसहर शाखाबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले भने सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका साथै मेरो सेयरमार्फत आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । 

Share News