बंगलादेशमा बम, आगजनी र राजनीतिक भूकम्प

३० भन्दा बढी बसमा आगजनी, ८० वटा बम विस्फोट

काठमाडौं । बंगलादेश फेरि राजनीतिक हिंसा र अस्थिरताको चपेटामा परेको छ ।

पूर्वप्रधानमन्त्री शेख हसिनाका समर्थकले देशव्यापी बन्द आह्वान गरेपछि विभिन्न स्थानमा आगजनी, बम विस्फोट, तोडफोड र झडपका घटना भएका छन् ।

प्रदर्शनकारीले सवारीसाधनदेखि सरकारी कार्यालयसम्मलाई निशाना बनाएका छन् ।

त्यसैगरी, नोबेल शान्ति पुरस्कार विजेता तथा अन्तरिम सरकारका पूर्वप्रमुख मोहम्मद युनुसको पैतृक घरमा समेत आगजनी भएको छ ।

सन् २०२४ मा विद्यार्थी आन्दोलनका कारण शेख हसिनाको १५ वर्ष लामो शासन अन्त्य भएपछि बंगलादेशमा राजनीतिक संक्रमण सुरु भएको थियो ।

त्यसपछि अन्तरिम सरकारको नेतृत्व गरेका युनुसको कार्यकाल सकिएर सन् २०२६ को निर्वाचनबाट बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) सत्तामा आएको थियो ।

तारिक रहमान प्रधानमन्त्री बनेपछि देशमा राजनीतिक स्थिरता कायम हुने अपेक्षा गरिएको थियो । तर हसिनाको पुनरागमनको चर्चासँगै पछिल्ला दिनमा बढेको राजनीतिक तनावले नयाँ संकट निम्त्याएको छ ।

बिहीबार हसिनाको पार्टी अवामी लिगले देशव्यापी बन्दको आह्वान गरेको थियो । पार्टीले आफ्ना नेता तथा कार्यकर्तामाथि भइरहेको कारबाही र हसिनालाई स्वदेश फर्कन आवश्यक राहदानी तथा परिचयपत्र उपलब्ध नगराइएको विरोधमा बन्द आयोजना गरेको हो । 

बन्दका क्रममा विशेषगरी अवामी लिगको प्रभाव रहेका दक्षिणी क्षेत्रहरूमा तनाव बढेको थियो । 

सरकारले अवामी लिगलाई राजनीतिक गतिविधि गर्न प्रतिबन्ध लगाएको छ । प्रतिबन्धित पार्टीका समर्थकले गरेको बन्दका क्रममा देशका विभिन्न स्थानमा हिंसात्मक गतिविधि भएका हुन् । 

यद्यपि बन्दले देशभरको जनजीवन पूर्ण रूपमा ठप्प पार्न भने सकेन । तर सवारीसाधन जलाउने, रेलमार्गमा आगो लगाउने र सार्वजनिक संरचनामा आक्रमण गर्ने घटनाले सुरक्षा चुनौती बढाएको छ ।

३० भन्दा बढी बसमा आगजनी, ८० वटा बम विस्फोट

बंगलादेशी सञ्चारमाध्यम ‘द न्यु नेसन’का अनुसार नोभेम्बर ७ यता देशका विभिन्न स्थानमा ३० भन्दा बढी बसमा आगजनी गरिएको छ भने कम्तीमा ८० वटा कच्चा बम विस्फोट भएका छन् । 

प्रहरी चौकी, सरकारी कार्यालय, अस्पताल तथा ग्रामीण बैंकका शाखासमेत आक्रमणको निशानामा परेका छन् ।

रोयटर्सका अनुसार बुधबार रातिदेखि बिहीबारसम्म कम्तीमा ६ वटा बस तथा पिकअप भ्यानमा आगजनी गरिएको थियो । विभिन्न स्थानमा रेलमार्गको एक खण्डमा आगो लगाइएको र ६ जिल्लामा घरेलु बम विस्फोट भएको प्रहरीले जनाएको छ।

ढाका–चटगाउँ राजमार्गमा समेत एउटा बस र ट्रकमा आगजनी गरिएको थियो । आगलागी हुनुअघि बसमा सवार यात्रुहरू बाहिर निस्किएकाले मानवीय क्षति हुन पाएन ।

हसिनाको गृहजिल्ला गोपालगन्जमा हिंसात्मक गतिविधि बढी देखिएको छ । त्यहाँ प्रधानमन्त्री तारिक रहमानको पार्टी बीएनपीका दुई सांसदको घरमा तोडफोड र आगजनी गरिएको प्रहरीले जनाएको छ । बजार तथा पसलहरूमाथि समेत आक्रमण भएको छ ।

हिंसाका क्रममा प्रधानमन्त्रीको पार्टीका दुई कार्यकर्ताको मृत्यु भएको पनि प्रहरीले जनाएको छ । यसैबीच, नोभेम्बर १९ सम्म कम्तीमा २२ जिल्लामा बम विस्फोट, आगजनी, सडक अवरोध र झडपका घटना भएको एसोसिएटेड प्रेस (एपी) ले जनाएको छ ।

युनुसको पैतृक घरमा आगजनी

बंगलादेशमा पछिल्लो हिंसाको सबैभन्दा चर्चित घटनामध्ये एक मोहम्मद युनुसको पैतृक घरमा भएको आगजनी हो ।

चटगाउँस्थित युनुसको पैतृक घरमा बुधबार मध्यरात हुनुअघि आगलागी भएको थियो । प्रहरी गस्ती टोलीले घरको भुइँतलामा रहेको प्रयोगविहीन कोठाबाट आगो लागेको देखेपछि नियन्त्रणमा लिएको थियो ।

प्रहरीका अनुसार आगो लगाउन ज्वलनशील पदार्थ प्रयोग गरिएको आशंका छ । घरको माथिल्लो तलामा युनुसका पितातर्फका परिवारका सदस्य बस्दै आएका छन् । उनीहरू सुरक्षित रहेको प्रहरीले जनाएको छ ।

युनुस सन् २०२४ मा हसिनाको सत्ता पतन भएपछि अन्तरिम सरकारको नेतृत्वमा आएका थिए । उनको नेतृत्वमा बनेको सरकारले निर्वाचन गराएर सत्ता हस्तान्तरण गरेको थियो । तर हसिनाका समर्थकले उनको सरकार र त्यससँग सम्बन्धित संस्थाहरूलाई लामो समयदेखि निशाना बनाउँदै आएका छन् ।

एपीका अनुसार नोभेम्बर १० देखि १९ सम्म युनुसले स्थापना गरेको ग्रामीण बैंकका ७२ वटा शाखामा आक्रमण भएको बैंकले जनाएको छ । यसले हिंसा राजनीतिक व्यक्तिहरूमा मात्रै सीमित नरहेको देखाउँछ ।  

राजनीतिक तनावको एउटा प्रमुख कारण हसिनाको स्वदेश फिर्ती 

पछिल्लो राजनीतिक तनावको एउटा प्रमुख कारण हसिनाको स्वदेश फिर्तीको विषय बनेको छ ।

सन् २०२४ अगस्टमा विद्यार्थी आन्दोलन चर्किएपछि हसिना देश छाडेर भारत पुगेकी थिइन् । त्यसयता उनी भारतमै निर्वासनमा बस्दै आएकी छन् । उनले आगामी डिसेम्बरमा बंगलादेश फर्कने योजना रहेको बताएकी छन् ।

तर स्वदेश फर्कन आवश्यक नयाँ राहदानी र परिचयपत्र उपलब्ध गराउने उनको माग सरकारले अस्वीकार गरेको छ । त्यसपछि अवामी लिगले सरकारविरुद्ध प्रदर्शन र बन्दका कार्यक्रम अघि सारेको हो ।

हसिनामाथि सन् २०२४ को विद्यार्थी आन्दोलन दबाउने क्रममा मानवताविरुद्धको अपराध गरेको आरोपमा मुद्दा चलेको थियो । उनलाई मृत्युदण्डको सजाय सुनाइएको एपीले जनाएको छ । बीएनपी नेतृत्वको सरकारले उनलाई भारतबाट सुपुर्दगी गरेर बंगलादेश ल्याउनुपर्ने बताउँदै आएको छ ।

यही विषयले बंगलादेशको आन्तरिक राजनीतिमा भारतको भूमिकालाई समेत विवादको विषय बनाएको छ । प्रधानमन्त्री तारिक रहमानले संसदमा सम्बोधन गर्दै हसिनाका समर्थक र छिमेकी मुलुकतर्फ संकेत गर्दै बंगलादेशविरुद्ध षड्यन्त्र भइरहेको आरोप लगाएका छन् ।

उनले देशलाई आत्मनिर्भर बनाउने प्रयास भइरहेका बेला अपदस्थ शक्तिहरूले अस्थिरता निम्त्याउन खोजेको बताएका छन्। यद्यपि उनले छिमेकी मुलुकको नाम भने स्पष्ट रूपमा उल्लेख गरेका छैनन् । 

१०७ जना पक्राउ, सुरक्षाकर्मी परिचालन 

हिंसा नियन्त्रण गर्न सरकारले सुरक्षा व्यवस्था कडा बनाएको छ । बंगलादेशको अर्धसैनिक सीमा सुरक्षा बल (बीजीबी) का ९७ प्लाटुन सात जिल्लामा परिचालन गरिएको छ । विशेषगरी गोपालगन्ज र फरीदपुरजस्ता अवामी लिगको प्रभाव रहेका क्षेत्रमा सुरक्षा निगरानी बढाइएको छ ।

ढाकामा पछिल्लो २४ घण्टामा अवामी लिग तथा यससँग आबद्ध संगठनका १०७ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा पूर्वशिक्षामन्त्री नुरुल इस्लाम नाहिदसमेत छन् ।

प्रहरीले हिंसा फैलाउने तथा सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउने गतिविधिमा संलग्न व्यक्तिहरूको खोजी भइरहेको जनाएको छ । सरकारले देशमा शान्ति सुरक्षा कायम गर्न आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाएको छ । 

विपक्षी दल पनि सडकमा उत्रिने तयारीमा

अवामी लिगको आन्दोलन र हिंसात्मक गतिविधिपछि बंगलादेशका अन्य राजनीतिक दलहरूले पनि आफ्नो रणनीति बनाउन थालेका छन् ।

जमात–ए–इस्लामी नेतृत्वको ११ दलीय गठबन्धनले नोभेम्बर २१ देखि डिसेम्बर ३१ सम्म देशव्यापी विरोध कार्यक्रम गर्ने घोषणा गरेको छ । गठबन्धनले र्याली, जुलुस र प्रदर्शनमार्फत सरकारलाई दबाब दिने जनाएको छ ।

गठबन्धनले बढ्दो हिंसा, अत्यावश्यक वस्तुको मूल्यवृद्धि, विद्युत् महसुल वृद्धि तथा लोडसेडिङलाई पनि सरकारको असफलताका रूपमा प्रस्तुत गरेको छ । उसले हिंसा र तोडफोडबाट नभई जनताको सहभागितामा शान्तिपूर्ण आन्दोलनबाट राजनीतिक समस्या समाधान गर्नुपर्ने बताएको छ ।

त्यस्तै, नेसनल सिटिजन पार्टी (एनसीपी) ले भने तत्काल छुट्टै आन्दोलन नगर्ने र हिंसा नियन्त्रणका लागि सरकार तथा सुरक्षा निकायलाई सहयोग गर्ने बताएको छ । 

मजदुरको आन्दोलनले पनि जनजीवन प्रभावित 

बंगलादेशमा राजनीतिक आन्दोलनसँगै कपडा उद्योगका मजदुरको प्रदर्शनले पनि जनजीवन प्रभावित बनाएको छ । 

तलब वृद्धि माग गर्दै प्रदर्शनमा उत्रिएका मजदुरले ढाका प्रवेश गर्ने प्रमुख राजमार्ग अवरुद्ध गरेका छन् ।

प्रदर्शनका कारण राजधानी आसपासका केही उद्योग बन्द गर्नुपरेको छ । मजदुरको यो आन्दोलन अवामी लिगको राजनीतिक आन्दोलनभन्दा अलग विषय हो ।

बंगलादेश विश्वकै दोस्रो ठूलो तयारी पोसाक निर्यातकर्ता मुलुक हो । त्यहाँको अर्थतन्त्रमा कपडा उद्योगको महत्त्वपूर्ण योगदान छ । यस क्षेत्रमा करिब ४० लाख मानिस कार्यरत छन् । 

यसअघि पनि न्यूनतम मासिक तलब ३० हजार टाका पुर्याउनुपर्ने माग गर्दै मजदुरले प्रदर्शन गरेका थिए । त्यसपछि सरकारले तलब पुनरावलोकन गर्न पारिश्रमिक बोर्ड गठन गरेको थियो । 

अन्य पठनीय सामग्रीहरू :

आणविक युद्ध नलड्ने तीन महाशक्तिको घोषणा

आईपीओमा एन्थ्रोपिकको विश्व रेकर्ड, कम्पनीको बजार मूल्य १.५ ट्रिलियन डलर पुग्यो

जेन्सनको पुनरागमनमा बोर्डको ‘ब्रेक’, जासुसीको छानबिन जारी 

एपस्टिनको मृत्यु आत्महत्या नभई हत्या भएको नयाँ दाबी 

सुन एक वर्षयताकै सस्तो, मूल्य घट्ने क्रम जारी

Share News