काठमाडौं । बिरामीको ज्यान जोगाउन बनाइएका विभिन्न एण्टिबायोटिक औषधीहरूको गलत प्रयोग विश्वव्यापी जनस्वास्थ्यको प्रमुख चुनौतीका रूपमा देखिएको छ ।
सामान्य संक्रमणको उपचारमा प्रयोग हुने एन्टिबायोटिकलगायतका औषधीले काम गर्न छाड्दै जाँदा उपचार जटिल बन्ने र मानिसको ज्यानसमेत जोखिममा पर्ने अवस्था बढ्दै गएको विज्ञहरूले बताएका छन् ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार ब्याक्टेरियल एन्टिमाइक्रोबियल प्रतिरोधका कारण सन् २०२१ मा विश्वभर ४७ लाख १० हजार मानिसको मृत्यु भएको छ ।
डब्लूएचओले सन् २०५० सम्म एक करोड व्यक्तिको ज्यान जानसक्ने अनुमान गरेको छ । नेपाल जस्ता विकासोन्मुख देशमा यसको प्रभाव अझ बढी हुने डब्ल्यूएचओको आकलन छ । प्रतिजैविक प्रतिरोधी निगरानी (एएमआर) का कारण हुने मृत्युमा बालबालिकासमेत उच्च जोखिममा रहेका छन् ।
नेपालका पछिल्ला तथ्यांकले पनि यो समस्या वृद्धि भएको औंल्याएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले हालै सार्वजनिक गरेको एएमआर २०२६ ले नेपालमा विभिन्न रोगका ढुसी, जीवाणु, भाइरस तथा अन्य सूक्ष्मजीवमा औषधीविरुद्ध प्रतिरोधी क्षमता विकास भएको देखाएको छ ।
प्रयोगशालाले सन् २०२५ को अन्त्यसम्म एक वर्षको अवधिमा गरेको निगरानीमा सातै प्रदेशबाट संकलन गरिएका ३ लाख ८३ हजार ४ सय ४१ वटा नमुनामध्ये ५३ हजार ५ सय ९७ वटा नमुनामा एएमआर क्षमता विकास भएको पाइएको छ । यो हिसाबले कुल नमुनाको १४ प्रतिशतमा औषधी प्रतिरोधी क्षमता विकास भएको प्रयोगशालाले जनाएको छ ।
नेपालमा देखिएको यो समस्यालाई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाले नेपालमा बढ्दो प्रतिजैविक प्रतिरोधी समस्या नियन्त्रण गर्न आवश्यक रहेको बताइन् । यो निगरानी प्रतिवेदनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा नीति तथा कार्यक्रम तय गर्न सहयोग पुग्ने उनको भनाइ छ ।
के हो प्रतिजैविक प्रतिरोध ?
डब्ल्यूएचओकी एएमआर विज्ञ पल्पसा कंसकारका अनुसार कुनै पनि ढुसी, कीटाणु वा भाइरसजन्य रोगमा सामान्य औषधीले काम गर्न नसक्ने अवस्थालाई एएमआर (प्रतिजैविक प्रतिरोधी) अवस्था भनिन्छ ।
सरल भाषामा भन्नुपर्दा उपचारमा प्रयोग हुने एन्टिबायोटिकले काम नगरेर सबैभन्दा उच्च तहको औषधी प्रयोग गर्नुपर्ने अवस्था हो ।
यस्तो उच्च तहका औषधी तथा एन्टिबायोटिक प्रयोग गर्नुपर्ने अवस्था आएमा भविष्यमा थप एन्टिबायोटिकजन्य औषधी विकास गर्न कठिन हुने भएकाले यसले सम्पूर्ण मानव सभ्यतामै असर गर्ने उनको भनाइ छ ।
मानव सभ्यतामा सयौं वर्षअघि एन्टिबायोटिकको विकास भएयता थुप्रै औषधी विकास भइसकेका छन् । अब थप औषधी निर्माण गर्न कठिन हुने भएकाले भविष्यमा संक्रमण भएका मानिस वा पशुको उपचारपछि पनि निको हुने सम्भावना कम हुने उनले जानकारी दिइन् ।
रोग प्रतिरोधी जीवाणु बलियो बन्नुको कारण
औषधीको अनुचित प्रयोग यसको प्रमुख कारणका रूपमा रहेको छ । चिकित्सकको सल्लाहबिना एन्टिबायोटिक किनेर खाने, आवश्यक नभएको अवस्थामा प्रयोग गर्ने र औषधीको मात्रा तथा अवधि पूरा नगर्ने प्रवृत्तिले औषधी प्रतिरोधको जोखिम बढाउँछ ।
डब्ल्यूएचओ नेपालका कार्यवाहक प्रमुख डा. आलिसान गोकोटालोले एएमआरको जोखिम कुनै एक व्यक्ति, समुदाय वा क्षेत्र विशेषमा सीमित नरहेको बताए । यसको असर सबैमा पर्न सक्ने भएकाले नियन्त्रणका लागि सामूहिक प्रयास र जनचेतना आवश्यक रहेको उनको भनाइ थियो ।
औषधी व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले एन्टिबायोटिकको समुचित प्रयोगमा सबैले ध्यान दिनुपर्ने बताए । चिकित्सकको सल्लाहबिना एन्टिबायोटिक प्रयोग गर्ने र जथाभावी औषधी सेवन गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्नेमा उनले जोड दिए ।
राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रकी निर्देशक डा. राधिका थपलियाले एन्टिबायोटिकको प्रयोगसम्बन्धी नागरिकको व्यवहार परिवर्तनलाई प्राथमिकतामा राख्नुपर्ने उल्लेख गरिन् ।
अहिले पनि धेरैले एन्टिबायोटिकको पूरा मात्रा सेवन नगर्ने र आफूखुसी औषधी किनेर खाने गरेको उल्लेख गर्दै उनले यस्तो प्रवृत्ति परिवर्तन गर्न आवश्यक रहेको बताइन् ।
यसका लागि जनचेतना अभिवृद्धिसँगै नीतिगत कमजोरीबारे सञ्चारमाध्यमले पैरवी र निगरानी गर्नुपर्ने उनको भनाइ छ ।
नियन्त्रणका उपाय
एएमआरको जोखिम मानव स्वास्थ्यमा मात्रै सीमित नरहेको भन्दै पशुपन्छी क्षेत्रमा प्रयोग हुने एन्टिबायोटिकको व्यवस्थापनमा समेत ध्यान दिनुपर्ने सरोकारवालाले बताएका छन् ।
पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालले कृषि तथा पशुपालन क्षेत्रमा पनि एन्टिबायोटिक प्रयोग हुने भएकाले त्यसको उचित व्यवस्थापन आवश्यक रहेको बताए । मानव स्वास्थ्य, पशु स्वास्थ्य र वातावरण एकअर्कासँग सम्बन्धित रहेकाले औषधीको अनावश्यक प्रयोग नियन्त्रण गर्न सबै पक्ष मिलेर काम गर्नुपर्ने उनको भनाइ थियो ।
यसैलाई ध्यानमा राखेर अन्तर्राष्ट्रिय स्तरमा पनि एएमआर नियन्त्रणका लागि एकीकृत कार्ययोजना अघि सारिएको छ ।
सन् २०१५ मा भएको ६८औं विश्व स्वास्थ्य सभाले एएमआरसम्बन्धी विश्वव्यापी कार्ययोजना पारित गरेको थियो । उक्त कार्ययोजनालाई सन् २०२६ देखि २०३६ सम्मका लागि पुनरावलोकन गरिएको छ ।
त्यस्तै, सन् २०२४ मा भएको संयुक्त राष्ट्रसंघ महासभाको उच्चस्तरीय बैठकले सन् २०३० सम्म एएमआरका कारण हुने मृत्युदर १० प्रतिशतले घटाउने लक्ष्य निर्धारण गरेको छ।
त्यस अवधिसम्म एएमआर नियन्त्रणसम्बन्धी राष्ट्रिय कार्ययोजना भएका देशको संख्या ६० प्रतिशत पुर्याउने, मानव स्वास्थ्यमा प्रयोग हुने कुल एन्टिबायोटिकमध्ये कम्तीमा ७० प्रतिशत डब्ल्यूएचओको ‘एक्सेस’ समूहमा पर्ने औषधी प्रयोग गर्ने लक्ष्यसमेत राखिएको छ ।
त्यसैगरी सबै स्वास्थ्य संस्थामा आधारभूत खानेपानी, सरसफाइ तथा स्वच्छता सेवा सुनिश्चित गर्ने र ९० प्रतिशत देशले संक्रमण रोकथाम तथा नियन्त्रणसम्बन्धी डब्ल्यूएचओका न्यूनतम मापदण्ड पूरा गर्ने लक्ष्य छ ।
वातावरणमा एन्टिमाइक्रोबियल औषधी तथा तिनका अवशेष मिसिन नदिनु पनि कार्ययोजनाको प्राथमिकतामा रहेको छ ।