काठमाडौं । कृषि क्षेत्रमा आधुनिक प्रविधि, यन्त्र तथा उपकरणको प्रयोग विस्तार गर्ने उद्देश्यले आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रिकरण प्रदर्शनी २०८३ सुरु भएको छ । ‘कृषिमा यन्त्र र प्रविधि, कृषक र राष्ट्रको समृद्धि’ भन्ने नारासहित सुरु भएको प्रदर्शनीमा कृषि ड्रोनदेखि कृत्रिम बुद्धिमत्ता (एआई) सम्मका प्रविधि प्रदर्शन गरिएको छ ।
प्रदर्शनीमा नेपालसहित भारत, चीन तथा युरोपका विभिन्न कम्पनीको सहभागिता रहेको छ । नेपाल कृषि मेसिनरी व्यवसायी संघका अध्यक्ष कृष्ण शर्माले प्रदर्शनीले नेपालको कृषि यान्त्रिकरणलाई नयाँ उचाइमा पुर्याउन योगदान गर्ने विश्वास व्यक्त गरे ।
उद्घाटन समारोहमा बोल्दै उनले सामान्य मिनी टिलरबाट सुरु भएको नेपालको कृषि यान्त्रिकरणको यात्रा अहिले ड्रोन, डिजिटल कृषि र एआईसम्म आइपुगेको बताए । उनका अनुसार २०७० सालमा नारायणी नदी किनारमा केही कृषि मेसिन प्रदर्शन गर्दै सुरु भएको यो अभियान अहिले अन्तर्राष्ट्रिय स्तरसम्म विस्तार भएको छ । यसबीच बाँके, धरान, चितवन, भरतपुर र पोखरालगायत स्थानमा प्रदर्शनीका विभिन्न संस्करण आयोजना भइसकेका छन् ।
यस वर्षको प्रदर्शनीमा साना तथा ठूला गरी १४४ वटा स्टल राखिएका छन् भने ७२ वटा कम्पनी सहभागी छन् । प्रदर्शनीमा कृषि मेसिनरी, ग्रीनहाउस, थोपा सिँचाइ, मल्चिङ, फगर, कृषि परामर्श, अनुसन्धान, खाद्य प्रशोधन, पोस्ट हार्भेस्ट, अटोमेसन, कृषि ड्रोन, एआई, पुष्प खेती, पशुपन्छी तथा मत्स्यपालन, मल तथा बीउ, मौरीपालन र कफीसम्बन्धी प्रविधि तथा उपकरण राखिएका छन् ।
स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘मेड इन नेपाल’ र ‘मेक इन नेपाल’ अन्तर्गतका स्टललाई विशेष प्राथमिकता दिइएको अध्यक्ष शर्माले जानकारी दिए । राष्ट्रिय आविष्कार केन्द्रलगायत नेपाली उत्पादक तथा संस्थालाई १७ वटा स्टल निःशुल्क उपलब्ध गराइएको छ । नेपाली कम्पनीलाई स्टल शुल्कमा ६० प्रतिशत र संघका सदस्यलाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको उनले बताए ।
प्रदर्शनी नेपाल सरकारको कृषि, वन तथा वातावरण मन्त्रालय, कृषि विभाग, राष्ट्रिय कृषि इन्जिनियरिङ तथा यान्त्रिकरण प्रवर्द्धन केन्द्र र नेपाल कृषि मेसिनरी व्यवसायी संघको मुख्य आयोजनामा सञ्चालन भएको हो । बागमती प्रदेश सरकारको कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय तथा एफएओ नेपाल सहआयोजक रहेका छन् ।
प्रदर्शनीको मुख्य प्रायोजक एसकेटी नेपाल प्रालि रहेको छ । युरोपियन युनियन र जर्मन आर्थिक सहयोग तथा विकास मन्त्रालयको सहयोगमा जीआईजेडद्वारा सञ्चालित परियोजनासहित विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनी, बैंक तथा वित्तीय संस्था र विकास साझेदारले प्रदर्शनीलाई सहयोग गरेका छन् ।
तीन दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा कृषि यान्त्रिकरणसम्बन्धी ज्ञान आदानप्रदान, व्यवसाय विकास र नीतिगत संवादका कार्यक्रमसमेत आयोजना हुनेछन् । पहिलो दिन विभिन्न देशका छ जना विषयविज्ञले कृषि यान्त्रिकरणसम्बन्धी प्रस्तुति दिने कार्यक्रम छ ।
दोस्रो दिन कृषि मेसिनरीको खरिद तथा प्रयोग, खाद्य प्रशोधन तथा निर्यात र नेपालको भूगोलअनुकूल कृषि यान्त्रिकरण नीतिबारे छलफल हुनेछ । तेस्रो दिन विषयविज्ञको प्रस्तुति र युवा केन्द्रित कृषि यान्त्रिकरण तथा नवप्रवर्तनसम्बन्धी प्यानल छलफल आयोजना गरिनेछ ।
प्रदर्शनी अवधिभर दैनिक ५० जना अवलोकनकर्तालाई लक्की ड्रमार्फत पुरस्कृत गरिने आयोजकले जनाएको छ । अन्तिम दिन एक थान हाते ट्र्याक्टर (मिनी टिलर) पनि प्रदान गरिनेछ ।
अध्यक्ष शर्माले पछिल्लो दशकमा कृषि यान्त्रिकरणको क्षेत्रमा उल्लेख्य प्रगति भए पनि यसको प्रयोग अझै सीमित रहेको बताए । विशेषगरी बाली रोप्ने, गोडमेल गर्ने र भित्र्याउने काममा विशिष्टीकृत मेसिनको प्रयोग बढाउनुपर्ने उनको भनाइ छ । राइस ट्रान्सप्लान्टर र सिड ड्रिलजस्ता उपकरणको प्रयोगलाई थप प्रोत्साहन गर्नुपर्ने उनले बताए ।
उनले कृषि ऐन तथा कृषि यान्त्रिकरण प्रवर्द्धन नीतिमा आवश्यक संशोधन, अत्याधुनिक प्रदर्शनी हल निर्माण, कृषि यन्त्रलाई महत्वपूर्ण कृषि सामग्रीका रूपमा समावेश र स्वदेशी कृषि मेसिनरी उत्पादनलाई प्रोत्साहन गर्न सरकारसँग माग गरे । साथै कृषि उपकरणको आयातमा लाग्ने उच्च भन्सार घटाउनुपर्ने उनको सुझाव छ ।
किसानले आफ्नो आवश्यकताअनुसार कृषि यन्त्र छनोट गर्न पाउने व्यवस्था, सहज कर्जा तथा बिमा सुविधा, महिला तथा जलवायुमैत्री प्रविधिको विकास र देशभर कस्टम हायरिङ सेन्टर विस्तार गर्नुपर्नेमा पनि उनले जोड दिए । कृषि यन्त्रसम्बन्धी सीपमूलक तालिममार्फत रोजगारी सिर्जना गर्नुपर्ने उनको भनाइ छ ।
कृषि मेसिनरी आयातका क्रममा देखिने नीतिगत तथा प्रशासनिक झन्झट हटाउनुपर्ने माग गर्दै शर्माले कम्बाइन हार्भेस्टर आयात गर्दा स्टप बेलर अनिवार्य गरिँदा किसान तथा व्यवसायीले आर्थिक भार व्यहोर्नुपरेको बताए ।
उनका अनुसार प्रदर्शनी तीन दिनसम्म दैनिक बिहान १० बजेदेखि साँझ ५ बजेसम्म अवलोकन गर्न सकिनेछ । प्रदर्शनी किसान, कृषि उद्यमी, व्यवसायी, अनुसन्धानकर्ता तथा कृषि प्रविधिमा रुचि राख्ने सबैका लागि उपयोगी हुने आयोजकको अपेक्षा छ ।