काठमाडौं । भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आगामी मंसिरदेखि बेल्चा चलाउने श्रमिकले दैनिक १ हजार ७०० रुपैयाँ पारिश्रमिक पाउने बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जनकपुरधाममा आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री लम्सालले यस्तो बताएका हुन् ।
उनले हाल बेल्चा चलाउने श्रमिकले दैनिक ५०० रुपैयाँ मात्रै पारिश्रमिक पाइरहेको उल्लेख गर्दै आगामी मंसिरदेखि त्यसलाई बढाएर १ हजार ७०० रुपैयाँ पुर्याइने बताए ।
‘देश मधेसले बनाउँछ, किनकि सबैभन्दा बढी बेल्चा चलाउने श्रमिक मधेसमै छन्,’ उनले भने, ‘यो सरकारले सबैभन्दा बढी न्याय बेल्चा चलाउने श्रमिकलाई गरेको छ । अब उप्रान्त मंसिर महिनादेखि बेल्चा चलाउने श्रमिकले दैनिक एक हजार ७०० कमाउने छन् ।’
मन्त्री लम्सालले पारिश्रमिक वृद्धिबाट मधेसका श्रमिक बढी लाभान्वित हुने दाबी गरे उनले मधेसको विकास र यहाँका नागरिकको जीवनस्तर सुधारलाई सरकारले प्राथमिकतामा राखेको पनि बताए ।
पूर्वाधार विकासका कामलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गर्दै उनले श्रमिकको आम्दानी वृद्धि र विकास निर्माणका कामलाई सँगसँगै अघि बढाउने धारणा राखे ।