काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक कुमार शाहले कृषि उत्पादन बढाउन स्वदेशी कृषि मेसिनरी उद्योगको विकास र आधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकता दिने बताएका छन् ।
आठौं अन्तर्राष्ट्रिय कृषि यान्त्रिकीकरण प्रदर्शनी २०८३ को उद्घाटन गर्दै मन्त्री शाहले यस्तो बताएका हुन् ।
उनले कृषि उपकरणको स्वदेशी उत्पादन बढाउँदै आयातमा निर्भरता घटाउने सरकारको योजना रहेको बताए ।
नेपालको आर्थिक समृद्धि आयात बढाएर नभई स्वदेशी उत्पादन वृद्धि गरेर मात्रै सम्भव हुने बताए। त्यसका लागि परम्परागत खेती प्रणालीलाई आधुनिक र प्रविधिमैत्री बनाउनुपर्ने उनको भनाइ थियो ।
मन्त्री शाहले कृषि यान्त्रिकीकरणलाई कृषि र उद्योग जोड्ने महत्त्वपूर्ण आर्थिक क्षेत्रका रूपमा विकास गर्नुपर्ने बताए ।
किसानको जीवनस्तर सुधार्न आधुनिक प्रविधि र कृषि उपकरणको प्रयोग अपरिहार्य रहेको उल्लेख गर्दै उनले किसानलाई भाषण र आश्वासनभन्दा उत्पादन बढाउने साधन आवश्यक रहेको धारणा राखे ।
भन्सार विभागको तथ्यांक उद्धृत गर्दै उनले आर्थिक वर्ष २०८२/८३ मा खाद्य तथा कृषि क्षेत्रसँग सम्बन्धित वस्तुको आयात करिब ४ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको जानकारी दिए ।
उक्त तथ्यांकमा खाद्य वस्तुका साथै कच्चा खाद्य तेल, पशु आहार र प्रशोधनका लागि आयात गरिएका सामग्रीसमेत समावेश हुन सक्ने उनको भनाइ थियो ।
कृषि उपजको स्वदेशी उत्पादन र उत्पादकत्व बढाउन सके ठूलो परिमाणमा आयात प्रतिस्थापन गर्न सकिने उनले बताए ।
मन्त्री शाहले कृषि यान्त्रिकीकरण प्रवद्र्धनका लागि तीनवटा नीतिगत प्राथमिकता अघि सारेका छन् ।
उनका अनुसार स्वदेशी कृषि मेसिनरी उत्पादनलाई प्राथमिकता दिने, कृषि उपकरण उद्योगमा लगानीमैत्री वातावरण बनाउने र नेपाली भूगोल तथा किसानको आवश्यकताअनुसारका साना, किफायती र टिकाउ उपकरण उत्पादन गर्ने उद्यमलाई प्रोत्साहन गरिनेछ ।
त्यस्तै, कृषि औजार, मेसिन, पार्टपुर्जा तथा उपकरण एसेम्बली गर्ने स्वदेशी उद्योगलाई नीतिगत र प्रक्रियागत सहजीकरण गरिने उनले बताए ।
कृषि मेसिनरी उद्योगमा देखिएका भन्सार, नीतिगत तथा प्रक्रियागत समस्या पहिचान गरी सम्बन्धित निकायसँगको समन्वयमा समाधान खोजिने उनको भनाइ थियो ।
उनले कृषि मेसिनरी व्यवसायीलाई आयात र वितरणमा मात्रै सीमित नभई स्वदेशमै उत्पादन, अनुसन्धान, प्रविधि हस्तान्तरण र नवप्रवर्तनमा लगानी बढाउन आग्रह गरे ।
सरकारले नीतिगत सहजीकरण गर्ने र निजी क्षेत्रले लगानी तथा उद्यमशीलताको नेतृत्व लिनुपर्ने मन्त्री साहले बताए ।
कृषि उपकरणको प्रयोगले खेतीको लागत घटाउनुका साथै श्रमिक अभाव कम गर्न र उत्पादन बढाउन सहयोग पुग्ने मन्त्री शाहको भनाइ थियो। नेपालमै कृषि औजार तथा पार्टपुर्जा उत्पादन गर्ने उद्योग विकास गर्न सके कृषि क्षेत्रसँगै औद्योगिक गतिविधि पनि विस्तार हुने उनले बताए ।
प्रदर्शनीमा सयभन्दा बढी कम्पनी तथा संघसंस्थाको सहभागिता रहनेछ। त्यस्तै, दुई हजारभन्दा बढी कृषि यन्त्र तथा प्रविधि प्रदर्शन गरिने र ५० हजारभन्दा बढी किसान सहभागी हुने अपेक्षा गरिएको छ।
मन्त्री शाहले प्रदर्शनीलाई किसान, व्यवसायी र प्रविधि क्षेत्रबीच ज्ञान, लगानी तथा बजार विस्तारको अवसरका रूपमा लिन आग्रह गरे ।
किसान समृद्ध नभएसम्म देश समृद्ध हुन नसक्ने उल्लेख गर्दै उनले नेपालको कृषि रूपान्तरणका लागि यान्त्रिकीकरणलाई प्राथमिकता दिनुपर्ने बताए ।
उनले प्रदर्शनीको अवलोकन गरी नयाँ कृषि प्रविधि तथा उपकरणबारे जानकारी लिन किसानलाई आग्रह गर्दै आठौं अन्तर्राष्ट्रिय कृषि यान्त्रिकीकरण प्रदर्शनी २०८३ उद्घाटन भएको घोषणा गरेका थिए ।