५९४ मेगावाट विद्युत् भारतीय ऊर्जा एक्सचेन्जमा बेच्न अनुमति

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौताअन्तर्गत स्वीकृति पाएका आयोजनाबाट उत्पादित ५९४ मेगावाट विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मा बिक्री गर्न अनुमति पाएको छ। यससँगै थप २१.३४ मेगावाट विद्युत् निर्यातको स्वीकृति प्राप्त भएको छ। अब भारततर्फ विद्युत् निर्यातका लागि स्वीकृत कुल परिमाण १ हजार १९८ मेगावाट पुगेको छ।

भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले मंसिर २ गते उक्त अनुमति दिएको हो। स्वीकृतिअनुसार ५९४ मेगावाट विद्युत् सन् २०२६ नोभेम्बर १८ देखि २०२७ जुन १४ सम्म अर्थात् २०८३ मंसिर २ देखि २०८४ जेठ ३१ गतेसम्म आईएक्सको डे-अहेड र रियल टाइम मार्केटमा बिक्री गर्न सकिनेछ।

अनुमतिप्राप्त विद्युत्मध्ये २०५ मेगावाट कटैया–कुशाहा, रामनगर–सुरजपुर र रक्सौल–परवानीपुर १३२ केभी प्रसारण लाइनमार्फत निर्यात गरिनेछ। बाँकी ३८९ मेगावाट विद्युत् ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइनमार्फत बिक्री गरिने प्राधिकरणले जनाएको छ।

नेपाल विद्युत् प्राधिकरण र भारतका एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) तथा पावर ट्रेडिङ कर्पोरेसन (पीटीसी) बीच भएको द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौताअनुसार नेपालबाट भारतको हरियाणा र बिहार राज्यमा हरेक वर्ष जुनदेखि अक्टोबरसम्म विद्युत् निर्यात हुँदै आएको छ। चालु वर्षका लागि सम्झौताअनुसार विद्युत् निर्यात गर्ने अवधि गत अक्टोबर ३१ अर्थात् कात्तिक १४ गते सकिएको थियो।

मध्यकालीन सम्झौताअन्तर्गत निर्यात हुँदै आएको विद्युत् वैकल्पिक बजारका रूपमा आईएक्समा बिक्री गर्न प्राधिकरणले निर्यातयोग्य आयोजनाको सूची निर्यात अवधि समाप्त हुनुअघि नै भारतीय निकायमा पठाएको थियो। त्यसपछि स्वीकृतिका लागि निरन्तर पहल तथा फलोअप गरिएको थियो।

प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठका अनुसार एनभीभीएनमार्फत ३८९ मेगावाट र पीटीसीमार्फत २०५ मेगावाट गरी कुल ५९४ मेगावाट विद्युत् आईएक्समा बिक्री गर्ने अनुमति प्राप्त भएको हो।

प्राधिकरणले आन्तरिक खपतबाट बढी भएको वर्षायामको विद्युत् आईएक्सको डे-अहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा बिक्री गर्दै आएको छ। यसका साथै द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौताअनुसार भारतका हरियाणा र बिहार तथा बंगलादेशमा समेत विद्युत् निर्यात हुँदै आएको छ।

थप २१.३४ मेगावाट विद्युत् निर्यात अनुमति

भारतको केन्द्रीय विद्युत् प्राधिकरणले थप २१.३४ मेगावाट विद्युत् निर्यात गर्न पनि अनुमति दिएको छ। सेती खोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् सन् २०२६ नोभेम्बर १८ देखि २०२७ अगस्ट ३१ अर्थात् २०८३ मंसिर २ देखि २०८४ भदौ १५ गतेसम्म आईएक्समा बिक्री गर्न स्वीकृति प्राप्त भएको हो।

यो स्वीकृतिसँगै नेपालबाट भारततर्फ निर्यातका लागि अनुमति प्राप्त कुल विद्युत् परिमाण १ हजार १९८ मेगावाट पुगेको छ। त्यस्तै, आगामी हिउँदयाममा विद्युत्को माग र आपूर्ति व्यवस्थापनका लागि भारतबाट १ हजार ४ मेगावाट विद्युत् आयात गर्नसमेत अनुमति प्राप्त भइसकेको प्राधिकरणले जनाएको छ। 

Share News