काठमाडौं । नेकपा एमालेले आगामी स्थानीय, प्रदेश र राष्ट्रिय सभा निर्वाचनको तयारीलाई तीव्र बनाउने निर्णय गर्दै आवश्यक परे राष्ट्रिय स्वाधीनताको रक्षा र लोकतान्त्रिक प्रक्रिया पुनःस्थापनाका लागि आन्दोलनमा उत्रिने संकल्प गरेको छ ।
काठमाडौंमा सम्पन्न राष्ट्रिय कार्यकर्ता भेलाले २१ बुँदे समसामयिक विशेष प्रस्ताव तथा सङ्कल्प पारित गर्दै पार्टीको राजनीतिक पुनरुत्थान, सङ्गठनात्मक सुदृढीकरण र आगामी निर्वाचनको तयारीलाई प्राथमिकतामा राखेको हो ।
भेलाले वर्तमान राजनीतिक परिस्थितिको समीक्षा गर्दै राष्ट्रियता, लोकतन्त्र र जनताको अधिकारको रक्षाका लागि पार्टीले आवश्यक भूमिका निर्वाह गर्ने निष्कर्ष निकालेको छ ।
निर्वाचनलाई राजनीतिक प्रतिस्पर्धाको माध्यमका रूपमा अघि बढाउने र राष्ट्रिय स्वाधीनता तथा लोकतान्त्रिक प्रक्रियामाथि चुनौती उत्पन्न भए प्रतिवाद गर्ने एमालेको सङ्कल्प छ ।
भेलामा अध्यक्ष केपी शर्मा ओलीले ‘आजका दुई कार्यभार र गर्नुपर्ने १५ काम’ शीर्षकमा प्रस्तुत गरेको राजनीतिक मार्गनिर्देशनलाई पार्टीको आगामी कार्यदिशासँग जोडिएको थियो ।
ओलीले एमालेले पछिल्लो समय व्यहोरेको राजनीतिक धक्का फागुन २१ को निर्वाचन परिणामबाट मात्रै सुरु नभएको उल्लेख गर्दै सरकारबाट अपदस्थ गरिएपछि नै पार्टीविरुद्धको राजनीतिक परिस्थिति निर्माण भएको बताएका थिए ।
उनले पार्टीले सामना गरिरहेको चुनौतीलाई निर्वाचनमा पराजित भएको विषयमा मात्र सीमित नगरी समग्र राजनीतिक घटनाक्रमका रूपमा बुझ्नुपर्ने धारणा राखेका थिए ।
पार्टीलाई पुनः निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न राजनीतिक र सङ्गठनात्मक दुवै मोर्चामा काम गर्नुपर्ने उनको जोड थियो ।
भेलामा वरिष्ठ नेता विद्यादेवी भण्डारीले ‘पार्टीमा नयाँ ऊर्जा, उत्साह र आत्मविश्वास सिर्जना गर्ने सङ्कल्प गरौं’ शीर्षकमा प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।
उनले पार्टीभित्र नयाँ उत्साह र आत्मविश्वास निर्माण गर्दै कार्यकर्तालाई एकताबद्ध बनाउनुपर्ने विषयलाई प्राथमिकता दिएकी थिइन् ।
त्यसैगरी उपाध्यक्ष रामबहादुर थापा बादलले ‘राष्ट्रिय स्वाधीनता, लोकतन्त्र तथा समृद्धिका लागि सङ्कल्प गरौं’ विषयमा प्रस्ताव राखेका थिए ।
उपाध्यक्ष विष्णु पौडेलले एमाले नेतृत्वको सरकारले देशको अर्थतन्त्र, विकास र सामाजिक जीवनमा पुर्याएका योगदान तथा उपलब्धिबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।
महासचिव शंकर पोखरेलले भने ‘पार्टीको शुद्धीकरण, सुदृढीकरण र स्थानीय निर्वाचनको तयारी सम्बन्धी प्रशिक्षणमूलक सम्बोधन गरेका थिए । पार्टीभित्र अनुशासन, आचरण र कार्यशैलीमा देखिएका कमजोरी सुधार्दै सङ्गठनलाई निर्वाचनकेन्द्रित बनाउनुपर्ने विषय उनको प्रस्तुतिको मुख्य आधार थियो ।