चालु खाता २ खर्ब ७९ अर्ब र शोधनान्तर ३ खर्ब ३ अर्ब बचतमा

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा नेपालको चालु खाता र शोधनान्तर स्थिति दुवै बचतमा रहेका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार २०८३ असोजसम्म चालु खाता २ खर्ब ७९ अर्ब ११ करोड रुपैयाँ बचतमा रहेको छ । त्यस्तै, शोधनान्तर स्थिति ३ खर्ब ३ अर्ब ७९ करोड रुपैयाँ बचतमा रहेको छ ।

राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो तीन महिनाको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी तथ्याङ्कमा यस्तो देखिएको हो ।

चालु खाता बचतमा रहनुले वस्तु तथा सेवा व्यापार, विप्रेषणलगायत चालु कारोबारबाट हुने आम्दानी र भुक्तानीबीचको अवस्था अनुकूल रहेको संकेत गर्छ । त्यस्तै, शोधनान्तर बचतले मुलुकमा भित्रिने र बाहिरिने विदेशी मुद्रा बीचको समग्र अन्तर बचतमा रहेको देखाउँछ । 

Share News