साढे ४१ खर्ब नाघ्यो विदेशी मुद्रा सञ्चिति, १९ महिनाको आयात धान्न सक्ने

काठमाडौं । नेपालमा कुल विदेशी विनिमय सञ्चिति साढे ४१ खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकका अनुसार असारको तुलनामा २०८३ असोजसम्म विदेशी विनिमय सञ्चिति ६.८ प्रतिशतले वृद्धि भई ४१ खर्ब ६१ अर्ब १४ करोड रुपैयाँ पुगेको हो । गत असारमा कुल विदेशी विनिमय सञ्चिति ३८ खर्ब ९७ अर्ब ६७ करोड रुपैयाँ रहेको थियो । 

अमेरिकी डलरमा गणना गर्दा पनि विदेशी विनिमय सञ्चिति ८.२ प्रतिशतले बढेको छ । असार मसान्तमा २५ अर्ब ३१ करोड अमेरिकी डलर रहेको सञ्चिति असोज मसान्तमा बढेर २७ अर्ब ३९ करोड अमेरिकी डलर पुगेको राष्ट्र बैंकले जनाएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति ६.४ प्रतिशतले बढेको छ । असार मसान्तमा ३४ खर्ब ७३ अर्ब १९ करोड रुपैयाँ रहेको यस्तो सञ्चिति असोज मसान्तमा बढेर ३६ खर्ब ९५ अर्ब २४ करोड रुपैयाँ पुगेको छ ।

त्यस्तै, राष्ट्र बैंकबाहेक बैंक तथा वित्तीय संस्थामा रहेको विदेशी विनिमय सञ्चिति ९.८ प्रतिशतले वृद्धि भएको छ । असार मसान्तमा ४ खर्ब २४ अर्ब ४८ करोड रुपैयाँ रहेको यस्तो सञ्चिति असोज मसान्तमा ४ खर्ब ६५ अर्ब ९० करोड रुपैयाँ पुगेको छ ।

राष्ट्र बैंकका अनुसार २०८३ असोज मसान्तमा कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१ प्रतिशत रहेको छ ।

१९ महिनाको वस्तु आयात धान्न सक्ने

विदेशी विनिमय सञ्चिति बढेसँगै नेपालको आयात धान्न सक्ने क्षमता पनि बलियो देखिएको छ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १९.९ महिनाको वस्तु आयात र १७.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकले जनाएको छ ।

२०८३ असोज मसान्तमा कुल विदेशी विनिमय सञ्चिति कुल गार्हस्थ्य उत्पादनको ६३ प्रतिशत बराबर पुगेको छ । त्यस्तै, कुल आयातको तुलनामा यस्तो सञ्चिति १४३.७ प्रतिशत र विस्तृत मुद्राप्रदायको तुलनामा ४४.८ प्रतिशत रहेको छ ।

यसअघि २०८३ असार मसान्तमा कुल गार्हस्थ्य उत्पादनसँग विदेशी विनिमय सञ्चितिको अनुपात ५९.१ प्रतिशत थियो । त्यस्तै, कुल आयातसँगको अनुपात १६३.४ प्रतिशत र विस्तृत मुद्राप्रदायसँगको अनुपात ४३.८ प्रतिशत रहेको थियो ।

Share News