काठमाडौं । मलेसियामा वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकमाथि भएको संगठित ठगी प्रकरणमा मुछिएका पूर्वमुख्यसचिव एकनारायण अर्याल फरार भएका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनको खोजी गरिरहेको छ ।
सीआईबीको उच्च स्रोतका अनुसार अनुसन्धानका क्रममा अर्यालको समेत संलग्नता देखिएपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो ।
प्रकरणसँग सम्बन्धित कागजातमाथि अनुसन्धान अघि बढेपछि अर्याल सम्पर्कविहीन भएको स्रोतको भनाइ छ ।
यस प्रकरणमा सीआईबीले बुधबार दुई पूर्वमन्त्रीसहित ६ जनालाई पक्राउ गरेको थियो ।
पक्राउ पर्नेमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय, मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुखद्वय उमेश ढुंगाना र राजीव पोखरेल तथा तत्कालीन कानुन अधिकृत निर्मला गुरुङ छन् ।
यसअघि प्रहरीले कैलाश खड्का, रवीन्द्र केसी, प्रवीण तिवारी र रामपुकार तिवारीलाई पक्राउ गरिसकेको थियो ।
सीआईबीका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र र विकास रानाभाटसहितको जाहेरीका आधारमा अनुसन्धान गर्दा उनीहरूको संलग्नता देखिएपछि पक्राउ गरी अनुसन्धान अघि बढाइएको हो ।
पक्राउ परेकाहरूमाथि ठगी तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार नेपाल र मलेसिया सरकारबीच भएको समझदारीविपरीत गैरकानुनी रूपमा संकलन गरिएको रकममध्ये ३ लाख ७० हजार ४३९ अमेरिकी डलर र ३७ लाख १७ हजार ९० पाउन्ड स्टर्लिङ गरी कुल १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ मलेसिया पठाउने निर्णय भएको थियो ।
प्रहरीले सम्झौताको दायरा र कानुनी प्रक्रिया मिचेर आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गई विदेशी मुद्रा अपचलन गराउने निर्णयमा संलग्न रहेको आरोप सम्बन्धित पदाधिकारीमाथि लगाएको छ ।
त्यस्तै, नेपाली श्रमिकमाथि संगठित रूपमा ठगी भइरहँदा पनि त्यसलाई रोक्न पहल नगरेको, कानुनी उपचारको प्रक्रिया अघि नबढाएको र गैरकानुनी रूपमा संकलित रकम मलेसिया पठाउने निर्णयमा संलग्न रहेको आरोपमा उनीहरूमाथि अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।
अर्यालले २०४६ माघमा नायब सुब्बाबाट निजामती सेवा सुरु गरी शाखा अधिकृत, उपसचिव, सहसचिव हुँदै २०७६ फागुनमा सचिव पदमा बढुवा भएका थिए ।
२०८१ भदौ १३ को मन्त्रिपरिषद् बैठकबाट उनी मुख्यसचिवमा नियुक्त भएका थिए ।
यस्तो छ भीआईपी समातिएको मलेसिया काण्डको नालीबेली