बागलुङ । बागलुङमा करिब १० करोड रुपैयाँको लगानीमा सुविधा सम्पन्न होटल ‘आँगन’ सञ्चालनमा आएको छ । बागलुङ नगरपालिका–२ मा उद्यमी दुर्गा कुँवरको लगानीमा निर्माण भएको होटलको होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष टीआर भण्डारी ‘शंकर’ले उद्घाटन गरेका हुन् ।
होटलमा १७ वटा आधुनिक एसी डिलक्स कोठा र सभा, सम्मेलन, गोष्ठी तथा विभिन्न समारोह आयोजना गर्न सकिने तीनवटा सुविधासम्पन्न हल छन् । होटल सञ्चालनमा आएसँगै बागलुङको पर्यटन पूर्वाधार र आतिथ्य सेवामा थप योगदान पुग्ने अपेक्षा गरिएको छ ।
उद्घाटन समारोहमा बोल्दै महासंघका अध्यक्ष भण्डारीले प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदाले सम्पन्न बागलुङमा पर्यटन व्यवसायको सम्भावना व्यापक रहेको बताए । पर्यटन विकासका लागि गन्तव्यको प्रचारप्रसारसँगै गुणस्तरीय होटल, व्यवस्थित आतिथ्य सेवा, दक्ष जनशक्ति र लगानीमैत्री वातावरण आवश्यक रहेको उनको भनाइ थियो ।
उनले पर्यटकलाई गुणस्तरीय सेवा, सुरक्षित बसाइ, स्थानीय स्वाद र आत्मीय आतिथ्यता प्रदान गर्न सके मात्रै पर्यटनलाई दिगो आर्थिक गतिविधिका रूपमा विकास गर्न सकिने बताए । यसका लागि निजी क्षेत्रको लगानी र स्थानीय समुदायको सहभागिता आवश्यक रहेको उनले उल्लेख गरे ।
भण्डारीले बागलुङलाई धार्मिक तथा सांस्कृतिक पर्यटनसँगै साहसिक, ग्रामीण, प्राकृतिक र सम्मेलन पर्यटनको गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड दिए । कालिका भगवती मन्दिर, पञ्चकोट, बागलुङ बजार, गलकोट, ढोरपाटन र गाजा दहलगायतका पर्यटकीय क्षेत्रलाई एकीकृत प्याकेजका रूपमा प्रवर्द्धन गर्न सके जिल्लाको पर्यटन अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने उनको भनाइ थियो ।
कार्यक्रममा अध्यक्ष भण्डारीले होटल व्यवसायलाई व्यवस्थित, प्रतिस्पर्धी र प्रविधिमैत्री बनाउन महासंघले विभिन्न संस्थागत तथा नीतिगत पहल अघि बढाइरहेको जानकारी दिए ।
महासंघले व्यवसायीको हकहित संरक्षण, सरकारसँग नीतिगत पैरवी, पर्यटन पूर्वाधार विकासमा निजी क्षेत्रको सहभागिता, सीप तथा क्षमता अभिवृद्धि, सेवा गुणस्तर सुधार र स्थानीय गन्तव्यको प्रवर्द्धनलाई प्राथमिकतामा राखेको उनले बताए।
होटल व्यवसायलाई डिजिटल प्रविधिसँग जोड्ने उद्देश्यले महासंघले ‘डिजिटल लिटरेसी फर होटल इन्डस्ट्री’ अभियानसमेत सञ्चालन गरिरहेको छ। यस अभियानमार्फत डिजिटल मार्केटिङ, अनलाइन ट्राभल एजेन्सी (ओटीए), प्रोपर्टी म्यानेजमेन्ट सिस्टम (पीएमएस), गुगल रिभ्यु तथा कृत्रिम बौद्धिकता (एआई) लगायतका प्रविधिको प्रयोगबारे व्यवसायीलाई सचेत र सक्षम बनाउने लक्ष्य राखिएको छ।
त्यस्तै, सरकारी निकाय, नेपाल पर्यटन बोर्ड, प्रदेश सरकार तथा स्थानीय तहसँगको सहकार्यमा होटल व्यवसायीका लागि सीपमूलक तालिम, खाद्य सुरक्षा, स्वच्छ भान्छा, सेवा गुणस्तर अभिवृद्धि र गन्तव्य प्रवर्द्धनका कार्यक्रमलाई पनि प्राथमिकता दिइँदै आएको उनले बताए।
