रुप्से होलिडेजले भियतनामको दानाङ सिधा चार्टर उडान गर्दै

दुईतर्फी पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । रूप्से होलिडेजले काठमाडौं- भियतनामको दानाङ सिधा चार्टर उडान गर्ने भएको छ। कम्पनीले मंसिर २३ र २७ मा दुईतर्फी चार्टर उडान सञ्चालन गर्न लागेको हो।

नेपाली पर्यटकलाई भियतनामको दानाङ पुर्याउने र भियतनामी पर्यटकलाई नेपाल ल्याउने लक्ष्यसहित उडान तथा भ्रमण प्याकेजको व्यवस्था गरिएको रुप्से होलिडेजले जनाएको छ। सिधा उडान सञ्चालन भएपछि यात्रुले ट्रान्जिटको झन्झटबिना दुवै देशबीच यात्रा गर्न सक्नेछन्।

भियतनामको दानाङ समुद्री तट, बाना हिल्सस्थित प्रसिद्ध गोल्डेन ब्रिज र ऐतिहासिक सहर होई आन पर्यटकका प्रमुख आकर्षण हुन्। भ्रमणमार्फत नेपाली पर्यटकले भियतनामका पर्यटकीय गन्तव्यको अनुभव लिन पाउनेछन्।

त्यसैगरी, भियतनामी पर्यटकलाई नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र आतिथ्यसँग परिचित गराउने कम्पनीको लक्ष्य छ। रूप्से होलिडेजका प्रमुख कार्यकारी अधिकृत तथा संस्थापक रमेश पराजुलीले नेपाल र भियतनामबीच पर्यटक आदानप्रदान बढाउन चार्टर उडानले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। 

नेपाली पर्यटकलाई भियतनाम घुमाउनेसँगै भियतनामी पर्यटकलाई नेपाल भित्र्याएर नेपालको पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउँने मुख्य उद्देश्य रहेको उनको भनाइ छ। उडान तथा भ्रमण प्याकेजसम्बन्धी विस्तृत जानकारी र बुकिङका लागि इच्छुक यात्रुले रूप्से होलिडेजसँग सम्पर्क गर्न सक्नेछन्।

Share News