१ अर्बको सिटिजन्स सुपर ५० म्युचुअल फन्डको इकाई बिक्री खुला

काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडले सिटिजन्स सुपर ५० म्युचुअल फन्डको इकाई निष्कासन तथा बिक्री खुला गरेको छ । मंसिर २ गतेदेखि सर्वसाधारणका लागि इकाई बिक्री खुला गरिएको हो ।

सिटिजन्स बैंक इन्टरनेसनल कोष प्रवर्द्धक र सिटिजन्स क्यापिटल योजना व्यवस्थापक रहेको यो बन्दमुखी योजनाको अवधि १० वर्ष छ । योजनाको प्रारम्भिक आकार १ अर्ब रुपैयाँ रहेको छ । माग तथा आवेदनको अवस्थाअनुसार योजनाको आकार अधिकतम १ अर्ब २५ करोड रुपैयाँसम्म कायम गर्न सकिने व्यवस्था छ ।

योजनाको इकाई निष्कासन छिटोमा मंसिर ७ गते र ढिलोमा मंसिर १६ गतेसम्म खुला रहनेछ । योजनाको कुल आकारको १५ प्रतिशत रकम कोष प्रवर्द्धक सिटिजन्स बैंक इन्टरनेसनलले बीज पुँजीका रूपमा लगानी गर्नेछ ।

सिटिजन्स सुपर ५० को मुख्य विशेषता ५० वटा उत्कृष्ट तथा लगानीयोग्य कम्पनी छनोट गरी तिनमा लगानी केन्द्रित गर्नु रहेको क्यापिटलले जनाएको छ । छनोट गरिएका कम्पनीको सेयरमा लगानी गरी विविधीकृत लगानी पोर्टफोलियो निर्माण गर्ने र व्यावसायिक व्यवस्थापनमार्फत दीर्घकालीन प्रतिफल अभिवृद्धि गर्ने योजनाको लक्ष्य छ ।

यस योजनामा सर्वसाधारण तथा संस्थागत लगानीकर्ताले आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले मेरो सेयर तथा आस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत इकाई खरिदका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । इकाई बाँडफाँटपछि योजना नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत हुनेछ र दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

सिटिजन्स क्यापिटलले यसअघि व्यवस्थापन गरेका सिटिजन्स म्युचुअल फन्ड–१ र सिटिजन्स म्युचुअल फन्ड–२ बाट क्रमशः औसत वार्षिक १२ प्रतिशत र १०.४० प्रतिशत प्रतिफल दिएको जनाएको छ । क्यापिटलले विगतको व्यवस्थापन अनुभव, लगानी अनुशासन र इकाईधनीको हित संरक्षणलाई प्राथमिकतामा राखेर नयाँ योजना सञ्चालन गर्ने बताएको छ । 

Share News