अल्टरनेटिभा फिल्म फेस्टिभलका लागि आवेदन खुला, पुरस्कार १ लाख २० हजार अमेरिकी डलर

अघिल्लो संस्करणमा ५५ देशबाट १ हजार ८३१ आवेदन

काठमाडौं । सामाजिक विषयवस्तु र सकारात्मक परिवर्तनको सन्देश बोकेका चलचित्रलाई प्रोत्साहन गर्दै आएको अन्तर्राष्ट्रिय चलचित्र फेस्टिभल ‘अल्टरनेटिभा फिल्म फेस्टिभल’ (एएफएफ) ले सन् २०२७ मा आयोजना हुने चौथो संस्करणका लागि आवेदन खुला गरेको छ ।

सन् २०२७ को अन्त्यतिर पहिलो पटक अफ्रिकामा आयोजना हुन लागेको फेस्टिभलमा अफ्रिका, एसिया र ल्याटिन अमेरिकाका चलचित्रकर्मीले सहभागिता जनाउन सक्नेछन् । 

फेस्टिभलअन्तर्गत फिचर फिल्मतर्फ तीनवटै क्षेत्रका चलचित्रकर्मीले आवेदन दिन पाउनेछन् भने सर्ट फिल्मतर्फ अफ्रिकी चलचित्रकर्मीलाई मात्र आवेदन दिने व्यवस्था गरिएको छ ।

कुल १ लाख २० हजार अमेरिकी डलर पुरस्कार राशि रहेको फेस्टिभलका लागि सन् २०२६ अक्टोबर २९ देखि सन् २०२७ मार्च १ सम्म निःशुल्क आवेदन दिन सकिनेछ । फेस्टिभल आयोजना हुने देश, सहर र निश्चित मिति भने पछि सार्वजनिक गरिने आयोजकले जनाएको छ ।

अल्टरनेटिभा फिल्म फेस्टिभल विश्वव्यापी मोबिलिटी सेवा प्रदायक कम्पनी इनड्राइभको सहयोगमा सञ्चालित गैरनाफामूलक चलचित्र पहल ‘अल्टरनेटिभा’ अन्तर्गत आयोजना हुँदै आएको छ । 

इनड्राइभका फाउन्डर तथा सी.ई.ओ आर्सेन टम्स्कीले स्थापना गरेको यस पहलले विशेषगरी ग्लोबल साउथ अर्थात् विकासशील तथा उदीयमान क्षेत्रका चलचित्र र चलचित्रकर्मीलाई अन्तर्राष्ट्रिय मञ्च प्रदान गर्दै आएको छ ।

कलात्मक उत्कृष्टतासँगै सामाजिक परिवर्तनमा योगदान पुर्याउन सक्ने चलचित्रको पहिचान, प्रवद्र्धन र सम्मान गर्नु फेस्टिभलको मुख्य उद्देश्य हो । 

यसले चलचित्रकर्मीलाई अन्तर्राष्ट्रिय दर्शकमाझ आफ्ना सिर्जना प्रस्तुत गर्ने, पुरस्कारका लागि प्रतिस्पर्धा गर्ने, व्यावसायिक सम्बन्ध विस्तार गर्ने तथा नयाँ सहकार्यका अवसर प्राप्त गर्ने मञ्च प्रदान गर्दै आएको छ ।

सन् २०२३ मा काजाकिस्तानको अल्माटीबाट सुरु भएको अल्टरनेटिभा फिल्म फेस्टिभल सन् २०२४ मा इन्डोनेसियाको योग्याकार्ता र सन् २०२६ मा कोलम्बियाको मेडेलिनमा आयोजना गरिएको थियो । 

प्रत्येक संस्करण फरक क्षेत्रमा आयोजना गर्ने अवधारणाअनुसार चौथो संस्करण अफ्रिकामा गर्न लागिएको हो ।

यससँगै फेस्टिभलले आफ्नो अन्तर्राष्ट्रिय पहुँच थप विस्तार गर्ने तथा अफ्रिका, एसिया र ल्याटिन अमेरिकाका चलचित्रकर्मीबीच अनुभव आदानप्रदान र सहकार्यलाई प्रोत्साहन गर्ने लक्ष्य लिएको छ ।

अल्टरनेटिभाकी लिड लिजा सुर्गानोभाले फेस्टिभलको प्रत्येक संस्करणसँगै यसको पहुँच विस्तार हुनुका साथै चलचित्रकर्मीका लागि नयाँ अवसर सिर्जना भइरहेको बताइन् ।

अफ्रिका विविध संस्कृति, दृष्टिकोण र मौलिक चलचित्र सिर्जनाले समृद्ध क्षेत्र रहेको उल्लेख गर्दै उनले यस संस्करणले चलचित्रमार्फत सामाजिक परिवर्तनका विषयमा नयाँ बहस र सहकार्यको अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरिन् ।


फिचर र सर्ट फिल्मका लागि आवेदन दिन सकिने

अल्टरनेटिभा फिल्म फेस्टिभल २०२७ मा सन् २०२६ जनवरी १ पछि निर्माण सम्पन्न भएका चलचित्रले आवेदन दिन पाउनेछन् । कथानक चलचित्र, वृत्तचित्र, एनिमेसन तथा विभिन्न शैलीको संयोजनमा निर्माण गरिएका चलचित्रलाई आवेदन खुला गरिएको छ ।

४० मिनेट वा सोभन्दा बढी अवधिका फिचर फिल्मतर्फ अफ्रिका, एसिया र ल्याटिन अमेरिकाका चलचित्रकर्मीले आवेदन दिन सक्नेछन् । त्यस्तै, ४० मिनेटसम्मका सर्ट फिल्मतर्फ भने अफ्रिकी चलचित्रकर्मीले मात्र आवेदन दिन पाउनेछन् ।

फेस्टिभलमा कुल १ लाख २० हजार अमेरिकी डलर बराबरको पुरस्कार राशि सातवटा विधामा वितरण गरिनेछ । तीमध्ये फिचर फिल्मतर्फको एक ‘फोकस अवार्ड’ र सर्ट फिल्मतर्फका दुई ‘सट्र्स अवार्ड’ अफ्रिकी चलचित्रकर्मीका लागि छुट्याइएको छ ।

आवेदन दिन योग्य देशहरूको सूची, छनोट प्रक्रिया, पुरस्कारका विधा तथा अन्य आवश्यक मापदण्डबारे विस्तृत जानकारी अल्टरनेटिभाको आधिकारिक वेबसाइटमा उपलब्ध गराइएको छ ।

फेस्टिभलले उत्कृष्ट चलचित्रलाई पुरस्कृत गर्ने मात्र नभई विभिन्न देशका चलचित्रकर्मीलाई एउटै मञ्चमा जोडेर अनुभव आदानप्रदान, व्यावसायिक सम्बन्ध विस्तार तथा नयाँ चलचित्र निर्माणमा सहकार्य गर्ने अवसरसमेत प्रदान गर्दै आएको छ ।

अल्टरनेटिभा फिल्म फेस्टिभल २०२६ मा ‘फोकस अवार्ड’ प्राप्त गरेका पेरुका फिल्ममेकर अगस्टो जेगाराले फेस्टिभलले चलचित्रकर्मीप्रति देखाएको प्रतिबद्धता प्रशंसनीय रहेको बताए ।

त्यस्तै, अल्टरनेटिभा फिल्म फेस्टिभल २०२६ मा ‘नाटिभा अवार्ड’ प्राप्त चलचित्र लस्ट ल्यान्डकी प्रतिनिधि तथा मलेसियाली प्रोड्युसर एलिस सिकले फेस्टिभलले अन्तर्राष्ट्रिय चलचित्रकर्मीबीच सहकार्यको बलियो आधार तयार गरेको बताइन् ।

अघिल्लो संस्करणमा ५५ देशबाट १ हजार ८३१ आवेदन

अल्टरनेटिभा फिल्म फेस्टिभलको अघिल्लो संस्करणमा एसिया र ल्याटिन अमेरिकाका ५५ देशबाट कुल १ हजार ८३१ चलचित्रका आवेदन प्राप्त भएका थिए ।

तीमध्ये ल्याटिन अमेरिकाका २२ र एसियाका ३३ देशको सहभागिता रहेको थियो । ल्याटिन अमेरिकाबाट मात्रै १ हजार ४९९ आवेदन प्राप्त भएका थिए । यस क्षेत्रबाट ब्राजिल, मेक्सिको र अर्जेन्टिनाका चलचित्रकर्मीले सबैभन्दा बढी आवेदन दिएका थिए ।

एसियातर्फ भारत, इरान र चीनबाट सबैभन्दा बढी आवेदन प्राप्त भएका थिए । दक्षिणपूर्वी एसियामा इन्डोनेसिया, मलेसिया र फिलिपिन्स अग्रस्थानमा रहेका थिए भने मध्य एसियामा काजाकिस्तानबाट सबैभन्दा बढी आवेदन प्राप्त भएको थियो ।

अल्टरनेटिभाकी प्रोग्राम डाइरेक्टर नतालिया पिलाएभाले कोलम्बियाको मेडेलिनमा सम्पन्न तेस्रो संस्करणले चलचित्रकर्मी र दर्शकबीच उत्साहजनक सम्बन्ध स्थापित गरेको बताइन् ।

अफ्रिकामा आयोजना हुने आगामी संस्करणले नयाँ चलचित्र प्रतिभा पहिचान गर्ने तथा ग्लोबल साउथका प्रभावशाली कथालाई विश्वव्यापी दर्शकमाझ पुर्याउने अवसर थप विस्तार गर्ने उनको भनाइ छ ।

चलचित्रको अन्तर्राष्ट्रिय वितरणमा पनि सहयोग

अल्टरनेटिभा फिल्म फेस्टिभलले चलचित्र प्रदर्शन र पुरस्कार वितरणमा मात्र सीमित नरही सामाजिक प्रभाव पार्ने चलचित्रको अन्तर्राष्ट्रिय वितरणमा समेत सहयोग गर्दै आएको छ ।

सन् २०२६ को मध्यतिर सुरु गरिएको गैरनाफामूलक चलचित्र वितरण पहल ‘अल्टरनेटिभा डिस्ट्रिब्युसन’मार्फत ग्लोबल साउथका चलचित्रलाई विश्वभरका दर्शकमाझ पुर्याउने लक्ष्य राखिएको छ ।

यस पहलमा हालसम्म अल्टरनेटिभा फिल्म फेस्टिभलका अघिल्ला संस्करणमा सहभागी छवटा चलचित्र समावेश भइसकेका छन् । सन् २०२७ को संस्करणमा छनोट हुने चलचित्रले पनि यस पहलमा सहभागी हुने अवसर प्राप्त गर्न सक्नेछन् ।

यसबाट चलचित्रको अन्तर्राष्ट्रिय प्रदर्शन, पहुँच र सामाजिक प्रभावलाई फेस्टिभल सम्पन्न भएपछि पनि निरन्तरता दिन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

इनड्राइभका फाउन्डर तथा सी.ई.ओ आर्सेन टम्स्कीले उत्कृष्ट चलचित्र निर्माण हुने स्थानभन्दा पनि तिनले अन्तर्राष्ट्रिय दर्शकमाझ पुग्ने अवसर पाउनु महत्वपूर्ण रहेको बताए ।

चलचित्र प्रदर्शनसँगै अन्तरक्रिया र व्यावसायिक कार्यक्रम

अल्टरनेटिभा फिल्म फेस्टिभल २०२७ अन्तर्गत चलचित्र प्रदर्शनका साथै विभिन्न अन्तरक्रिया, छलफल तथा चलचित्र उद्योगसम्बन्धी व्यावसायिक कार्यक्रम आयोजना गरिनेछन् ।

फेस्टिभलमा प्रदर्शन हुने सामाजिक विषयवस्तुमा आधारित चलचित्रमार्फत दर्शक तथा चलचित्रकर्मीबीच संवाद र बहसलाई प्रोत्साहन गरिने आयोजकले जनाएको छ ।

कोलम्बियाको मेडेलिनमा सम्पन्न अघिल्लो संस्करणमा ११ हजार दर्शक, १०७ अन्तर्राष्ट्रिय अतिथि र ६० भन्दा बढी साझेदार संस्थाको सहभागिता रहेको थियो। उक्त संस्करण हालसम्मकै ठूलो फेस्टिभल बनेको थियो ।

आगामी संस्करणमा यस उपलब्धिलाई थप विस्तार गर्दै अझ धेरै दर्शक र चलचित्रकर्मीको सहभागिता सुनिश्चित गर्ने लक्ष्य राखिएको छ ।

फेस्टिभलअन्तर्गत चलचित्र निर्देशक, निर्माता, चलचित्र उद्योगका विज्ञ तथा सामाजिक परिवर्तनका क्षेत्रमा क्रियाशील व्यक्तित्वको सहभागितामा ‘इन्डस्ट्री डेज’ कार्यक्रम पनि आयोजना गरिनेछ ।

निःशुल्क आयोजना हुने यस कार्यक्रमले चलचित्रकर्मीबीच अनुभव र ज्ञान आदानप्रदान, व्यावसायिक सम्बन्ध विस्तार तथा अन्तर्राष्ट्रिय सहकार्यका अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

फेस्टिभलको समापन सामाजिक प्रभाव पार्ने उत्कृष्ट चलचित्रलाई सम्मान गर्दै पुरस्कार वितरण समारोहका साथ गरिनेछ । प्रतियोगिताका लागि छनोट भएका चलचित्रका निर्देशकलाई फेस्टिभल तथा पुरस्कार वितरण समारोहमा सहभागी हुन आमन्त्रण गरिनेछ । उनीहरूको यात्रा तथा आवास खर्च आयोजकले व्यहोर्नेछ ।

अल्टरनेटिभा फिल्म फेस्टिभल २०२७ का लागि इच्छुक चलचित्रकर्मीले सन् २०२७ मार्च १ सम्म निःशुल्क आवेदन दिन सक्नेछन् ।

आवेदन प्रक्रिया, योग्यता, पुरस्कार र अन्य विस्तृत जानकारी अल्टरनेटिभा फिल्म फेस्टिभलको आधिकारिक वेबसाइट मार्फत प्राप्त गर्न सकिनेछ ।

अल्टरनेटिभाबारे

अल्टरनेटिभा, इनड्राइभका संस्थापक आर्सेन टोम्स्कीले स्थापना गरेको तथा इनड्राइभको सहयोगमा सञ्चालित विश्वव्यापी गैरनाफामूलक चलचित्र पहल हो ।

यसले विशेषगरी ग्लोबल साउथका सामाजिक विषयवस्तुमा आधारित चलचित्रलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउने तथा चलचित्रमार्फत सकारात्मक सामाजिक परिवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्य राखेको छ ।

अन्तर्राष्ट्रिय चलचित्र फेस्टिभल, चलचित्र उद्योगसम्बन्धी प्रशिक्षण, वितरण र सहकार्य कार्यक्रममार्फत यस पहलले विभिन्न देश तथा समुदायका चलचित्रकर्मीलाई आफ्नो सिर्जना प्रस्तुत गर्ने र व्यावसायिक क्षमता विकास गर्ने अवसर प्रदान गर्दै आएको छ ।

चलचित्रमार्फत सामाजिक अन्याय र असमानताका विषय उठान गर्ने, नयाँ दृष्टिकोण प्रस्तुत गर्ने तथा विविध समुदायका कथालाई विश्वव्यापी दर्शकमाझ पुर्याउने उद्देश्यसहित अल्टरनेटिभाले आफ्ना गतिविधि विस्तार गर्दै आएको छ ।

Share News