इन्टरनेट कम्पनीलाई १० दिनभित्र विवरण पेश गर्न प्राधिकरणको कडा निर्देशन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार सेवा दस्तुरको विवरण बुझाउन निर्देशन दिएको छ । प्राधिकरणले गत आर्थिक वर्ष २०८२/८३ र चालू आर्थिक वर्षको असोज महिनासम्मको आय, दूरसञ्चार सेवा दस्तुर दाखिला तथा त्यससँग सम्बन्धित आवश्यक कागजात पेस गर्न निर्देशन दिएको हो ।

प्राधिकरणले अनुमतिपत्र प्राप्त गरी इन्टरनेट सेवा सञ्चालन गरिरहेका सबै सेवा प्रदायकलाई १० दिनभित्र विवरण बुझाउन भनेको हो । आर्थिक ऐन, २०६३ को दफा ८ को उपदफा ५ मा दूरसञ्चार सेवा दस्तुरको प्रशासन नेपाल दूरसञ्चार प्राधिकरणले निर्धारण गरेबमोजिम हुने व्यवस्था छ । सोही कानुनी व्यवस्थाअनुसार सेवा प्रदायकले नेपाल सरकारको राजस्व खातामा दाखिला गरेको दूरसञ्चार सेवा दस्तुरको विवरण माग गरिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले सेवा प्रदायकसँग इन्टरनेट बिक्रीबाट प्राप्त आय, मर्मतसम्भारबाट प्राप्त आय, उपकरण बिक्रीबाट प्राप्त आय र अन्य आयको छुट्टाछुट्टै विवरण माग गरेको छ । त्यसैगरी, कुल आय, दाखिला गरिएको दूरसञ्चार सेवा दस्तुरको रकम र दाखिला मितिसमेत खुलाउनुपर्नेछ ।

तोकिएको समयभन्दा ढिलो दस्तुर बुझाएको भए त्यसबापत दाखिला गरिएको ब्याजको विवरणसमेत पेस गर्नुपर्ने जनाएको छ । सेवा प्रदायकले दाखिला गरेको मूल दस्तुर र ब्याजसहितको कुल रकम पनि खुलाउनुपर्नेछ ।

प्राधिकरणले प्रत्येक महिनाको विवरण छुट्टाछुट्टै तयार गरी तोकिएको ढाँचामा पेस गर्न निर्देशन दिएको छ । विवरणसँगै दूरसञ्चार सेवा दस्तुर दाखिला गरेको पुष्टि हुने आवश्यक कागजातसमेत संलग्न गर्नुपर्नेछ ।

Share News