काठमाडौं । नेपाल टेलिकमले ३० एमबीपीएस क्षमताको एनटी फाइबर इन्टरनेट प्याकेज र एनटी फाइबरमा प्रयोग हुने मेस एपी (Mesh AP) अफरको अवधि थप गरेको छ ।
कम्पनीले ग्राहकको मागलाई मध्यनजर गर्दै दुवै अफरको अवधि २०८३ पुस ३० गतेसम्म थप गर्ने निर्णय गरेको हो । यसअघि मेस एपी अफर असोज ८ गतेदेखि र ३० एमबीपीएस इन्टरनेट प्याकेज असोज ३० गतेदेखि उपलब्ध गराइएको थियो ।
नेपाल टेलिकमका अनुसार ३० एमबीपीएस क्षमताको एनटी फाइबर इन्टरनेट प्याकेज वार्षिक ४ हजार ९९९ रुपैयाँमा उपलब्ध छ । त्यस्तै, घरका सबै स्थानमा वाइफाइको पहुँच पुर्याउन प्रयोग गरिने मेस एपीमा ४० प्रतिशत छुट दिइएको छ । छुटपछि मेस एपीको मूल्य २ हजार ९९९ रुपैयाँ कायम गरिएको छ ।
यसैगरी, दसैं–तिहार अफरअन्तर्गत नयाँ ग्राहकलाई उपलब्ध गराइएको वाइफाइ ६ इन्डिभिजुअल प्याकेजमा ३ हजार रुपैयाँ छुटको सुविधा भने कात्तिक ३० गतेसम्म मात्र कायम रहनेछ ।
उक्त छुट सुविधा प्राप्त गर्न चाहने नयाँ ग्राहकले कात्तिक ३० गतेभित्र डिमान्ड पोर्टलमार्फत नयाँ जडानका लागि आवेदन दर्ता गराइसक्नुपर्ने कम्पनीले जनाएको छ ।
नयाँ जडानका लागि ग्राहकले १९८ मा फोन गरेर, नेपाल टेलिकमको एप प्रयोग गरेर वा डिमान्ड पोर्टल मार्फत आवेदन दिन सक्नेछन् ।
अफरसम्बन्धी थप जानकारी नेपाल टेलिकमको आधिकारिक वेबसाइट मा उपलब्ध छ ।