काठमाडौं । नेपाली सूचना प्रविधि (आईटी) क्षेत्रको प्रवद्र्धन तथा स्वदेशी प्रविधि कम्पनीलाई बजार, लगानीकर्ता र अन्तर्राष्ट्रिय साझेदारसँग जोड्ने उद्देश्यसहित आगामी नोभेम्बर २१ र २२ ९मंसिर ५ र ६० गते ‘आकाशटेल नास–आईटी एक्स्पो २०२६’ आयोजना हुने भएको छ ।
नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज (नास–आईटी) आयोजना गर्न लागेको एक्स्पोको मुख्य नारा ‘नेपालको आगामी अर्थतन्त्रलाई गति दिँदै’ रहेको छ ।
यस वर्षको एक्स्पोमा स्टार्टअप प्यानलियन र दुईवटा विषयगत प्यानल छलफललाई विशेष प्राथमिकता दिइएको आयोजकले जनाएको छ ।
युरोपेली संघ (ईयू) को सहयोगमा सञ्चालन हुने स्टार्टअप प्यानलियनमा नयाँ तथा प्रारम्भिक चरणका कम्पनीले आफ्ना नवीन विचार, उत्पादन र प्रविधिमा आधारित समाधान प्रस्तुत गर्न पाउनेछन् ।
दुई दिनसम्म सञ्चालन हुने एक्स्पोमा नेपाली प्रविधि कम्पनीलाई बैंक तथा वित्तीय संस्था, कर्पोरेट क्षेत्र, सरकारी निकाय, लगानीकर्ता र अन्तर्राष्ट्रिय साझेदारसँग प्रत्यक्ष जोड्ने लक्ष्य राखिएको छ ।
नास–आईटीका अध्यक्ष दिपेन चापागाईंले सूचना प्रविधि क्षेत्रले नेपालको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्याउने सम्भावना रहेको बताए ।

नेपाली कम्पनीहरूले अन्तर्राष्ट्रिय स्तरका प्रविधि उत्पादन तथा सेवा विकास गरिरहेको उल्लेख गर्दै उनले तिनको बजार विस्तार, स्वदेशमै प्रयोग वृद्धि र अन्तर्राष्ट्रिय पहुँच बढाउन एक्स्पोले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
नास–आईटीकी महासचिव श्रेया श्रेष्ठले एक्स्पो प्रविधि प्रदर्शन गर्ने मञ्चमा मात्र सीमित नभई व्यवसाय, प्रविधि र प्रतिभालाई जोड्ने अवसरसमेत भएको बताइन् ।

उनका अनुसार खरिदकर्ता, स्टार्टअप र विद्यार्थीले आफूलाई उपयोगी अवसर पहिचान गर्नुका साथै नयाँ सहकार्य र व्यावसायिक सम्भावनाको खोजी गर्न सक्नेछन् ।
यसअघि सन् २०२५ नोभेम्बरमा आयोजना गरिएको पहिलो नास–आईटी एक्स्पोमा दुई हजार चार सयभन्दा बढी आगन्तुक र ३० भन्दा बढी प्रविधि कम्पनी सहभागी भएका थिए ।
पहिलो संस्करणको अनुभवलाई निरन्तरता दिँदै यस वर्षको एक्स्पोलाई थप प्रभावकारी र व्यावसायिक सहकार्य केन्द्रित बनाउने आयोजकको अपेक्षा गरिएको छ ।
यस वर्षको एक्स्पोको शीर्ष प्रायोजक आकाशटेल रहेको छ । सिल्भर प्रायोजकमा अम्निल टेक्नोलोजिजलगायत कम्पनी तथा संस्था रहेका छन् । डिसहोम इन्टरनेट साझेदारका रूपमा जोडिएको छ भने कलेज अफ इन्जिनियरिङ (एआरसी) र बिजक सहयोगी संस्थाका रूपमा रहेका छन् ।
आयोजकले प्रविधि कम्पनी, स्टार्टअप, विद्यार्थी, लगानीकर्ता तथा सरोकारवालालाई एक्स्पोमा सहभागी हुन आह्वान गरेको छ ।