काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर सरकारी पदमा नियुक्त भएको आरोपमा ओमप्रकाश गिरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।
आयोगले मंगलबार फेटा गाउँपालिका, बाराका रोजगार संयोजक गिरीविरुद्ध भ्रष्टाचारको आरोपमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।
अख्तियारका अनुसार गिरीले २०७८ जेठ १ गतेदेखि फेटा गाउँपालिकामा राजपत्राङ्कित तृतीय श्रेणी, शाखा अधिकृतसरहको रोजगार संयोजक पदमा नियुक्ति पाएका थिए । उक्त पदमा नियुक्तिका लागि उनले तीनवर्षे बीएड तहको लब्धाङ्कपत्र पेस गरेका थिए ।
उक्त शैक्षिक प्रमाणपत्र त्रिभुवन विश्वविद्यालयबाट प्रमाणीकरण गराउँदा गिरीको नभई अन्य व्यक्तिको भएको खुलेको अख्तियारले जनाएको छ ।
आफ्नो शैक्षिक योग्यता ढाँटी झुट्टा प्रमाणपत्र पेस गरी राष्ट्रसेवकको पद तथा ओहदा प्राप्त गरेको देखिएकाले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसार कैद र जरिवाना सजायको मागदाबीसहित आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन् ।