५ एआईजी अवकाशमा जाँदै, नयाँ एआईजीका लागि क-कसको हुँदैछ प्रतिस्पर्धा ?

काठमाडौं । नेपाल प्रहरीका पाँच प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पुस ५ गते एकैसाथ अवकाशमा जाने भएका छन् । ३० वर्षे सेवा अवधि पूरा गरेर पाँच जना एआईजी अनिवार्य अवकाशमा जान लागेका हुन् ।

प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अविनारायण काफ्लेले पाँच उच्च प्रहरी अधिकारीहरू पुष पाँचमा अवकाशमा जाने जानकारी दिए । 

प्रहरी प्रवक्ता काफ्लेका अनुसार आगामी पुस ५ गते अनिवार्य अवकाशमा जाने एआईजीहरूमा सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विक रहेका छन् ।

अवकाशमा गएसँगै रिक्त पदका लागि बढुवाको तयारीसमेत सुरु भएको छ ।

प्रहरीमा रिक्त हुन लागेको एआईजीका पदमा प्रहरी निरीक्षकको १११औं समूहबाट तीन र ११२औं समूहबाट दुई जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई बढुवा गर्ने गरी प्रारम्भिक छलफल भइरहेको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ । 
 
उनीहरू पाँचै जना २०५३ पुस ५ गते राष्ट्रिय अनुसन्धान विभागमा प्रहरी निरीक्षकका रूपमा सेवा प्रवेश गरेका प्रहरी अधिकारीहरू हुन् । 

यी अधिकारीहरू पछि नेपाल प्रहरीमा स्थानान्तरण भएपनि सेवा प्रवेशको मितिबाटै ३० वर्षे सेवा अवधि गणना हुने भएकाले अवकाशमा जान लागेका हुन् ।

यसअघि नै नेपाल प्रहरीमा एउटा एआईजी पद रिक्त छ । 

तत्कालीन प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई पदबाट हटाएर एआईजी डा. मनोजकुमार केसीलाई आईजीपी नियुक्त गरेपछि एउटा पद खाली भएको हो । त्यसैले पाँच जनाको अवकाशपछि एआईजीका कुल छवटा पद रिक्त हुनेछन् ।

प्रहरी प्रधान कार्यालय श्रोतका अनुसार एआईजी बढुवामा १११औं प्रहरी निरीक्षक समूहका चार डीआईजीबीच प्रतिस्पर्धा देखिएको छ । 

यस समूहबाट राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरुण पौडेल र गोविन्द थपलियाको नाम आगामी एआईजीको रुपमा हेरिएको स्रोतले जानकारी दियो ।

यी चारै जना २०८१ पुसमा डीआईजीमा बढुवा भएका अधिकृत हन् । प्रस्तावित बढुवा समीकरणअनुसार यस समूहबाट तीन जनालाई मात्रै एआईजी बनाउने गृह कार्यमा गृह मन्त्रालय स्रोतले जनाएको छ । 

गृह स्रोतका अनुसार बढुवाको अर्को महत्वपूर्ण पक्ष ११२औं समूहका अधिकृतलाई समेत एआईजीमा अवसर दिने तयारी रहेको छ । 

यस समूहबाट डीआईजी भूपेन्द्रबहादुर खत्री र सानुराम भट्टराई प्रमुख दाबेदारका रूपमा चर्चामा रहेका छन् । दुवै समूहलाई समेटेर बढुवा गर्दा तत्कालीन वरिष्ठता र भावी नेतृत्व विकासबीच सन्तुलन कायम गर्ने प्रयासका रूपमा समेत यसलाई हेरिएको स्रोतले जानकारी दियो ।

बढुवाको निर्णयले भावी आईजीपीको दौड प्रभावित

वर्तमान आईजीपी डा. केसी २०८४ चैतमा ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जानेछन् । 

त्यसपछि अहिले एआईजीमा बढुवा हुने अधिकृतमध्येबाटै भावी प्रहरी नेतृत्वको प्रतिस्पर्धा अगाडि बढ्ने सम्भावना छ । 

विशेषगरी ११२औं समूहका अधिकृतलाई अहिले नै एआईजीमा अवसर दिँदा उनीहरूले नेतृत्व तहमा काम गर्ने र संगठन सञ्चालनको अनुभव हासिल गर्ने समय पाउने भएकोले दुई समुहलाई समायोजन गरेर बढुवा गर्न लागिएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

Share News