काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले छठ पर्वले जीवनका हरेक अवस्थालाई सम्मान गर्न सिकाउने बताएका छन् ।
छठ पर्वको अवसरमा आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना दिँदै उनले उदाउँदो सूर्यलाई जस्तै अस्ताउँदो सूर्यलाई पनि उत्तिकै श्रद्धा र सम्मानका साथ अर्घ्य दिने परम्पराले जीवनको गहिरो दर्शन सिकाउने बताएका हुन् ।
उनले छठ पर्वले प्रकृतिप्रतिको कृतज्ञता र जीवनका हरेक अवस्थालाई सम्मान गर्ने प्रेरणा दिने उल्लेख गरेका छन् ।
प्रधानमन्त्री शाहले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई छठ पर्वको शुभकामना दिँदै यो पर्व परिवारको सुख, शान्ति, आरोग्य र सन्तानको दीर्घायुको कामना गर्दै मनाइने बताएका छन् ।
चार दिनसम्म विधिपूर्वक मनाइने छठ पर्वको पहिलो दिन नहाय–खाय, दोस्रो दिन खरना, तेस्रो दिन साँझ अस्ताउँदो सूर्यलाई र चौथो दिन बिहान उदाउँदो सूर्यलाई जलाशयको किनारमा अर्घ्य दिने परम्परा रहेको उनले उल्लेख गरेका छन् ।
सरकार सबै धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको बताउँदै प्रधानमन्त्री शाहले छठ पर्वले देशमा सुशासन, सामाजिक न्याय र समृद्धिको संकल्प पूरा गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।
उनले मैथिली भाषामा लेखेका छन्, ‘छठको धेरै धेरै शुभकामना ! दीनानाथ र छठी परमेश्वरीले सबैको जीवनमा सुख, शान्ति र समृद्धि प्रदान गरून् भन्ने कामना गर्दछु ।’
उनले भगवान् सूर्यदेव र छठी माताको कृपा सबैमा रहिरहोस् भन्दै मैथिली भाषामा समेत छठ पर्वको शुभकामना व्यक्त गरेका छन् ।