काठमाडौं । नेकपा (एमाले) ले मंसिर ५ गते केन्द्रीय कमिटीको चौथो बैठक बोलाएको छ । पार्टीले मंसिर पहिलो साता लगातार तीनवटा महत्त्वपूर्ण केन्द्रीय कार्यक्रम आयोजना गर्ने कार्यतालिका बनाएको छ ।
एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार मंसिर ५ गते पार्टी केन्द्रीय कमिटीको चौथो बैठक बस्नेछ ।
त्यसअघि मंसिर २ र ३ गते काठमाडौंको कार्की ब्याङ्क्वेटमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना हुनेछ । भेलामा पार्टीका केन्द्रीय सदस्य, प्रदेश तथा जिल्ला तहका नेता, पालिका कमिटीका प्रतिनिधि, संघीय तथा प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिहरू सहभागी हुनेछन् ।
एमालेले राष्ट्रिय भेलामा ३ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने जनाएको छ । भेलालाई अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता विद्यादेवी भण्डारीलगायत शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।
त्यसैगरी, मंसिर ४ गते बिहान ११ बजेदेखि ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा स्थानीय तहका जनप्रतिनिधिहरूको राष्ट्रिय भेला आयोजना हुनेछ । उक्त भेलामा एमालेबाट निर्वाचित स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षलगायत जनप्रतिनिधि सहभागी हुनेछन् ।
राष्ट्रिय कार्यकर्ता भेला र स्थानीय तहका जनप्रतिनिधिहरूको भेलापछि बस्न लागेको केन्द्रीय कमिटी बैठकलाई एमालेले आगामी राजनीतिक तथा संगठनात्मक कार्यदिशा तय गर्ने महत्त्वपूर्ण बैठकका रूपमा लिएको छ ।
स्थानीय तहको आसन्न निर्वाचनलाई लक्षित गर्दै एमालेले संगठनलाई एकताबद्ध र क्रियाशील बनाउने, पार्टीका नेता–कार्यकर्ताबीच एकीकृत सन्देश प्रवाह गर्ने तथा निर्वाचनको तयारीलाई व्यवस्थित बनाउने उद्देश्यले राष्ट्रिय भेला आयोजना गर्न लागेको हो ।
असोज पहिलो साता बसेको केन्द्रीय कमिटी बैठकले पार्टीको संगठनात्मक सुदृढीकरण, शुद्धीकरण, प्रतिपक्षको प्रभावकारी भूमिका र आगामी निर्वाचनको तयारीलाई प्राथमिकतामा राख्ने निर्णय गरेको थियो । मंसिरको राष्ट्रिय भेलाबाट प्राप्त सुझाव र निष्कर्षलाई समेत आगामी बैठकमा छलफलको आधार बनाउने अपेक्षा गरिएको छ ।
एमालेले मंसिर २ देखि ५ गतेसम्म राष्ट्रिय कार्यकर्ता भेला, स्थानीय जनप्रतिनिधिहरूको राष्ट्रिय भेला र केन्द्रीय कमिटी बैठक गरी तीनवटा कार्यक्रममार्फत पार्टीको संगठनात्मक तथा राजनीतिक गतिविधिलाई अघि बढाउने भएको छ ।