महाधिवेशनमा उजाडिएको खुलामञ्चको हरियाली फर्काउँदै कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको खुलामञ्चको हरियाली पुनःस्थापना गर्न दुबो रोप्न थालेको छ । महाधिवेशन सम्पन्न भएको केही समयपछि कांग्रेसले सार्वजनिक स्थलमा पुगेको क्षति सच्याउने काम अघि बढाएको हो ।

आइतबार बिहान कांग्रेस काठमाडौं महानगर समितिको आयोजनामा पार्टीका नेता तथा कार्यकर्ता खुलामञ्च पुगेर क्षतिग्रस्त क्षेत्रमा नयाँ दुबो रोपेका छन् ।

गत असोजमा सम्पन्न कांग्रेसको १५औँ महाधिवेशनका क्रममा खुलामञ्चको दुबोमा क्षति पुगेको थियो । महाधिवेशनका गतिविधिका कारण मैदानको हरियाली बिग्रिएपछि त्यसलाई पुरानै अवस्थामा फर्काउने जिम्मेवारी कांग्रेसले लिएको थियो ।

सोही प्रतिबद्धताअनुसार कांग्रेस केन्द्रीय कार्यालय र माउन्ट एभरेस्ट इभेन्ट्सबीच दुबो रोप्ने, संरक्षण गर्ने र हुर्काउने विषयमा सम्झौता भएको थियो । सम्झौतामा कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलाल र इभेन्ट्सका प्रतिनिधि थमन भुषालले हस्ताक्षर गरेका थिए ।

सम्झौताअनुसार खुलामञ्चका क्षतिग्रस्त स्थानमा नयाँ दुबो रोप्ने र त्यसको नियमित स्याहार तथा संरक्षण गर्ने काम डेढ महिनाभित्र पूरा गरिनेछ । यसका लागि लाग्ने सम्पूर्ण खर्च कांग्रेसले नै व्यहोर्ने सहमति भएको छ ।

महाधिवेशनका क्रममा सार्वजनिक स्थलमा पुगेको क्षतिको जिम्मेवारी लिँदै कांग्रेसले अहिले त्यसको पुनःस्थापनाको काम थालेको हो । 

null

Share News