काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेश कुमार सिंहले बालेन साह नेतृत्वको वर्तमान सरकार पूर्ण कार्यकाल अर्थात् पाँच वर्ष नै चल्नुपर्ने बताएका छन् ।
समसामयिक राजनीतिक परिस्थितिका विषयमा आफ्नो धारणा राख्दै सांसद सिंहले विगतका राजनीतिक अस्थिरताबाट पाठ सिकेर अघि बढ्नुपर्नेमा जोड दिएका हुन् ।
२०१५ सालको बीपी कोइराला नेतृत्वको सरकार र २०७४ सालको तत्कालीन नेकपाको झन्डै दुई तिहाइ बहुमतको सरकारको दृष्टान्त दिँदै उनले इतिहासले स्पष्ट सन्देश दिइसकेकाले अब सरकारको स्थायित्व अनिवार्य रहेको उल्लेख गरेका छन् ।
यस्तै, सांसद सिंहले वर्तमान अवस्थामा न्यायालयले समेत न्याय माग्नुपर्ने परिस्थिति सिर्जना हुनु लोकतन्त्रका लागि गम्भीर चिन्ताको विषय भएको टिप्पणी गरेका छन् ।
मुलुकको आन्तरिक राष्ट्रियतामाथि भइरहेका चलखेलप्रति सचेत गराउँदै उनले कसैको उक्साहटमा आन्तरिक राष्ट्रियता कमजोर बनाउने कार्य आफूहरूलाई स्वीकार्य नहुने स्पष्ट पारे । देशको माटो र जनताको भावनालाई केन्द्रमा राखेर सबै अघि बढ्नुपर्ने उनको भनाइ छ ।