काठमाडौं । विश्वको अग्रणी प्रविधि तथा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) चिप निर्माता कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङले आफ्नो पदबाट राजीनामा दिएका छन् ।
आफ्नै कम्पनीकी एक उच्च अधिकारीसँग दोस्रो विवाहेत्तर सम्बन्ध (अफेयर) रहेको आरोप सार्वजनिक भएपछि कम्पनीको सञ्चालक समितिले उनको राजीनामा घोषणा गरेको हो ।
सन् १९९३ मा एनभिडियाको सहस्थापना गरेका हुआङले कम्पनीलाई ४ ट्रिलियन डलरभन्दा बढी मूल्यको विश्वकै दोस्रो ठूलो कम्पनी बनाउने क्रममा नेतृत्वदायी भूमिका खेलेका थिए ।
हुआङको राजीनामासँगै कम्पनीकी प्रमुख वित्तीय अधिकारी (सीएफओ) कोलेट क्रेसलाई अन्तरिम सीईओको जिम्मेवारी दिइएको छ । अन्तरिम सीईओ क्रेसले हुआङले बसालेको बलियो जगमा टेकेर कम्पनीको नवप्रवर्तन र एआई क्षेत्रको नेतृत्वलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
पछिल्लो समय हुआङ एकपछि अर्को व्यक्तिगत तथा सुरक्षा सम्बन्धी गम्भीर विवादमा तानिएका थिए । गत आइतबार मात्र उनले एलिस हुआङ नाम गरेकी अर्की एक महिलासँगको सम्बन्ध स्वीकार गरेका थिए, जसलाई कथित रूपमा चिनियाँ जासुस भएको आरोप लगाइएको छ ।
यस विषयमा एनभिडिया र अमेरिकी संघीय जाँच ब्युरो (एफबीआई) ले छुट्टाछुट्टै अनुसन्धान गरिरहेका छन् । त्यसको लगत्तै ’न्युयोर्क टाइम्स’ ले हुआङको आफ्नै कम्पनीकी एक कार्यकारी अधिकृतसँग पनि सम्बन्ध रहेको र क्यालिफोर्नियाको एक होटलमा उनीहरूसँगै देखिएको समाचार प्रकाशित गरेपछि उनीमाथि राजीनामाको चौतर्फी दबाब बढेको थियो ।
शीर्ष नेतृत्वको यस अप्रत्याशित बहिर्गमन र लगातारको विवादले विश्व सेयर बजारमा समेत ठूलो तरंग ल्याएको छ । अमेरिकी बजार खुल्नुअघिको प्रि-मार्केट कारोबारमा एनभिडियाको सेयर मूल्य १० प्रतिशतभन्दा बढीले ओरालो लागेको छ ।
यता, चिनियाँ जासुसी प्रकरणलाई बहाना बनाएर चीनमा उन्नत प्रविधि र चिप बिक्रीमा पुनः प्रतिबन्ध नलगाउन बेइजिङले अमेरिकालाई चेतावनी दिएको छ ।