काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिन कुमार आचार्यको नेतृत्वमा पार्टीको एक उच्चस्तरीय प्रतिनिधिमण्डल मित्रराष्ट्र चीनको भ्रमणमा जाने भएको छ ।
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को औपचारिक निमन्त्रणामा उक्त प्रतिनिधिमण्डल आगामी कात्तिक २९ गतेदेखि चीन भ्रमणमा निस्कन लागेको रास्वपा प्रवक्ता जगदीश खरेलले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
भ्रमणका क्रममा दुवै पार्टीबीच आपसी अनुभव आदानप्रदानका साथै सुशासन, आर्थिक विकास, सार्वजनिक सेवा प्रवाह, संस्थागत क्षमता अभिवृद्धि तथा जनअपेक्षाअनुरूपको राजनीतिक नेतृत्वलगायतका बहुआयामिक विषयहरूमा छलफल हुनेछ ।
दुवै पक्षले यस भ्रमणलाई नेपाल र चीनबीचको आपसी समझदारी, राजनीतिक संवाद तथा विकास सहकार्यलाई थप सुदृढ र विस्तार गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएका छन् ।
महामन्त्री आचार्यको नेतृत्वमा जाने २० सदस्यीय प्रतिनिधिमण्डलमा गणेश पराजुली, हरि ढकाल, कविन्द्र बुर्लाकोटी, लिमा अधिकारी आचार्य, समीक्षा बास्कोटा, सागर ढकाल, सुशान्त वैदिक, रीमा विश्वकर्मा र रमेश कुमार सापकोटा रहेका छन् ।
यस्तै, भ्रमण टोलीमा डा. धनञ्जय रेग्मी, गजला शमिम मिकरानी, श्रीराम न्यौपाने, डा. राम लामा, पुनम कुमारी अग्रवाल, डा. आनन्दबहादुर चन्द, डा. सुजाता तामाङ, पुष्पा कुमारी चौधरी, अरविन्द शाह र रत्ना थापासमेत सहभागी हुने विज्ञप्तिमा जनाइएको छ ।