एक वर्षपछि हारको समीक्षा, नयाँ रणनीतिको खोजी

काठमाडौंमा ३ हजार बढी नेता उतार्दै एमाले, विद्या भण्डारीको विशेष सम्बोधन

काठमाडौं । नेकपा एमालेले मंसिर २ र ३ गते काठमाडौंमा राजनीतिक भेला गर्ने भएको छ । निर्वाचनमा अपेक्षित परिणाम हासिल गर्न नसकेपछि नेकपा एमालेले पार्टी पङ्क्तिलाई पुनः सक्रिय बनाउने र आगामी राजनीतिक बाटो तय गर्ने उद्देश्यसहित राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने भएको हो ।

काठमाडौंको कार्की ब्याङ्क्वेटमा हुने भेलामा देशभरबाट ३ हजार १६४ जना नेता तथा प्रतिनिधि सहभागी हुने एमालेले जनाएको छ । 

‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली हाम्रो गन्तव्य’ भन्ने नारासहित हुन लागेको भेलाको मुख्य उद्देश्य निर्वाचनपछिको अवस्थाको समीक्षा, पार्टीभित्र साझा धारणा निर्माण र आगामी स्थानीय निर्वाचनको तयारी रहेको पार्टी नेताहरुले बताएका छन् ।

एमाले उपमहासचिव लेखराज भट्टका अनुसार भेलामा अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक परिस्थिति, पार्टीको तेस्रो केन्द्रीय कमिटी बैठकले तय गरेका दुई कार्यभार र १५ कार्ययोजनाबारे धारणा राख्ने कार्यक्रम छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण गर्दै पार्टीको आगामी राजनीतिक दिशा पनि भेलाले तय गर्ने उपमहासचिव भट्टले जानकारी दिए । यो भेला केवल नियमित संगठनात्मक कार्यक्रम मात्र नभएको उनको भनाइ छ ।  

निर्वाचनको परिणामलाई एमालेले अस्थायी धक्काका रूपमा व्याख्या गर्दै आएको छ । तर, परिणामलाई अस्थायी धक्का मात्रै भनेर निष्कर्ष निकाल्नु पर्याप्त नहुने राजनितिका जानकारहरु बताउँछन् । मतदाताले दिएको सन्देश, पार्टी संगठनको अवस्था र नेतृत्वप्रतिको जनधारणाको समीक्षा नगरी पुरानै शैलीमा अघि बढ्न कठिन हुने राजनीतिक विश्लेषकहरूको बुझाइ छ ।

राजनितिक विश्लेषक एवम् उपप्राध्यापक अर्जुन अर्याल निर्वाचनपछि पार्टीभित्र देखिएको निराशा, नेतृत्वको कार्यशैलीबारे उठ्ने गरेका प्रश्न र बदलिँदो राजनीतिक परिस्थितिमा एमालेले आफ्नो भूमिका कसरी स्थापित गर्छ भन्ने विषय पनि भेलाको केन्द्रमा रहने बताउँछन् ।

ओलीले प्रस्तुत गर्ने प्रतिवेदनमा निर्वाचनको परिणामको व्याख्या मात्र होइन, त्यसबाट पार्टीले के सिक्यो र आगामी दिनमा के बदल्छ भन्ने विषयले महत्व पाउनुपर्ने अर्याल बताउँछन् ।

एमाले मुस्ताङका अध्यक्ष दिपक लालचन पनि पार्टी पङ्क्तिले खोजेको जवाफ पनि यही भएको बताउँछन् । उनका अनुसार एमालेले आफ्नो कमजोरीको समीक्षा गरेर अघि बढ्नुपर्छ । केही जिल्ला अध्यक्षहरुले निर्वाचनको परिणामलाई बाह्य परिस्थितिको प्रभावका रूपमा मात्रै व्याख्या गरेर एमाले बस्न नहुने उनी बताउँछन् ।

विद्या भण्डारीको विशेष सम्बोधन 

भेलामा एमाले वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्या भण्डारीले पनि सम्बोधन गर्ने कार्यक्रम छ । पार्टीले उनको सम्बोधनलाई कार्यकर्ता पङ्क्तिमा ऊर्जा थप्ने अवसरका रूपमा प्रस्तुत गरिएको छ । 

भण्डारीको सम्बोधनलाई चासोका साथ हेरिनुको कारण उनको राजनीतिक पृष्ठभूमि र एमालेभित्रको प्रभाव हो । राष्ट्रपति हुनुअघि उनी एमालेको उपाध्यक्ष तथा पार्टी राजनीतिमा सक्रिय नेतृ थिइन् । पछिल्लो राजनीतिक परिवेशमा उनको उपस्थितिले पार्टीभित्र कस्तो सन्देश दिन्छ भन्ने विषय पनि महत्वपूर्ण हुने एमाले नेताहरु बताउँछन् ।

यद्यपि, भेलामा उनको सम्बोधन हुनु र पार्टीको नेतृत्व संरचनामा उनको औपचारिक भूमिका फेरिनु फरक विषय हुन् । त्यसैले उनको सम्बोधनलाई तत्काल नेतृत्व परिवर्तन वा नयाँ जिम्मेवारीको संकेतका रूपमा बुझ्न नमिल्ने बुझाइ एमालेभित्र देखिन्छ । तर, पार्टीभित्रको एकता र आगामी राजनीतिक दिशाबारे उनले राख्ने धारणाले एमालेको आन्तरिक बहसमा प्रभाव पार्न सक्नेछ ।

सङ्गठनको अवस्था र स्थानीय निर्वाचनको हिसाब

एमालेले भेलालाई आगामी स्थानीय निर्वाचनको तयारीसँग पनि जोडेको छ । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई आ–आफ्नो पालिकामा जनताले प्रशंसा गरेका पाँचदेखि सातवटा मुख्य काम प्रस्तुत गर्न भनिएको छ ।

त्यस्तै, जिल्ला तथा प्रदेश तहका नेताहरूले स्थानीय सरकारको समग्र अवस्था, गत फागुन २१ गतेको निर्वाचनमा पालिकागत रूपमा पार्टीको स्थिति र जिल्ला तथा प्रदेशको राजनीतिक अवस्थाबारे प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ ।

भोजपुर जिल्ला अध्यक्ष मकर खड्का यसले भेलामा पार्टीको संगठनात्मक अवस्थाको समीक्षा कागजी प्रतिवेदनमा मात्रै सीमित नरहने संकेत गरेको बताउँछन् । उनका अनुसार स्थानीय तहमा एमालेको प्रभाव कहाँ कमजोर भयो ? कुन क्षेत्रमा जनसमर्थन कायम छ र आगामी निर्वाचनमा पुनः प्रतिस्पर्धी बन्न के गर्नुपर्छ भन्ने विषयमा छलफल हुने अपेक्षा छ ।

गुल्मी अध्यक्ष वालसिँह काउछा एमालेका लागि स्थानीय निर्वाचन केवल अर्को चुनावी प्रतिस्पर्धा नभई निर्वाचनपछिको राजनीतिक पुनरागमनको आधार पनि भएको बताउँछन् । स्थानीय जनप्रतिनिधिको कामको समीक्षा र जिल्ला तहको राजनीतिक प्रतिवेदनले पार्टीको आगामी चुनावी रणनीति बनाउन भूमिका खेल्ने काउछाको बुझाइ छ ।

शुद्धीकरण र सुदृढीकरणको चुनौती

भेलामा महासचिव शंकर पोखरेलले पार्टी शुद्धीकरण तथा सुदृढीकरण र आगामी निर्वाचनको तयारीसम्बन्धी अवधारणापत्र प्रस्तुत गर्ने कार्यक्रम छ । उपाध्यक्ष विष्णु पौडेलले एमाले नेतृत्वमा रहेका सरकारका प्रमुख काम र उपलब्धिबारे प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

पार्टी शुद्धीकरणको विषय उठाउनु आफैंमा महत्वपूर्ण भए पनि त्यसलाई व्यवहारमा कसरी लागू गरिन्छ भन्ने प्रश्न अझ महत्वपूर्ण छ । संगठनभित्रको जिम्मेवारी बाँडफाँड, कार्यकर्ताको मूल्याङ्कन, नेतृत्वप्रतिको जवाफदेहिता र जनतासँगको सम्बन्ध सुधारजस्ता विषयमा ठोस निर्णय नआए शुद्धीकरणको बहस नारामै सीमित हुन सक्छ ।

एमालेले पार्टीभित्रको असन्तुष्टि व्यवस्थापन गर्दै संगठनलाई एकताबद्ध बनाउनु पनि उत्तिकै आवश्यक रहेको ठान्छन् उपप्राध्यापक अर्याल । उनका अनुसार निर्वाचनपछि कार्यकर्तामा देखिएको मनोबलको प्रश्न सम्बोधन नगरी केवल चुनावी अभियान चलाएर मात्रै पार्टीलाई पुरानै अवस्थामा फर्काउन सहज देखिँदैन ।

भेलापछि कस्तो बन्ला एमाले ?

मंसिर २ र ३ को भेलाले एमालेको तत्कालीन राजनीतिक दिशा र संगठन परिचालनको प्राथमिकता स्पष्ट पार्ने नेता कार्यकताहरुको ठम्याई छ । लुम्बिनी प्रदेश सम्पर्क कमिटी सचिवालय सदस्य रेमलाल पन्थी पार्टीले निर्वाचनको धक्कालाई कसरी व्याख्या गर्छ ? नेतृत्वले आत्मसमीक्षा गर्छ कि गर्दैन ? र, स्थानीय निर्वाचनका लागि कस्तो रणनीति बनाउँछ ? भन्ने विषयले भेलाको राजनीतिक महत्व निर्धारण गर्ने बताउँछन् ।

राजनितिक विश्लेषक अर्यालका अनुसार एमालेका लागि अहिलेको चुनौती केवल निर्वाचनमा गुमेको जनमत फर्काउनु मात्रै होइन, बदलिएको राजनीतिक परिवेशमा आफ्नो औचित्य र प्रभाव पुनः स्थापित गर्नु पनि हो । 
 

Share News