काठमाडौं । इमेलमार्फत बम विस्फोट गराउने धम्की आएपछि इटालीभरका ३०० भन्दा बढी विद्यालय खाली गराइएको छ । बुधबार देशका विभिन्न सहरका विद्यालय प्रशासनलाई धम्कीपूर्ण इमेल प्राप्त भएपछि विद्यार्थी र शिक्षकलाई सुरक्षित रूपमा विद्यालयबाट बाहिर निकालिएको हो ।
इटालीको सरकारी सञ्चारमाध्यम राई न्युज २४ का अनुसार राजधानी रोम, मिलान, फ्लोरेन्सलगायत प्रमुख सहरका विद्यालयलाई लक्षित गरी इमेल पठाइएको थियो । शिक्षा मन्त्री ज्युसेप्पे भाल्दितारालाई उद्धृत गर्दै टेलिभिजन च्यानल ला–७ ले कम्तीमा ३०० विद्यालय प्रभावित भएको र यो सङ्ख्या अझै बढ्न सक्ने जनाएको छ ।
धम्कीपछि प्रहरी, काराबिनिएरी (सैन्य प्रहरी) तथा विस्फोटक पदार्थ निष्क्रिय पार्ने विशेषज्ञ टोलीले विद्यालयहरूमा सुरक्षा जाँच थालेका छन् । प्रारम्भिक जाँचमा बम रहेको कुनै प्रमाण फेला नपरे पनि सावधानीस्वरूप विद्यालय खाली गराइएको हो ।
इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले घटनाको अवस्थाबारे छलफल गर्न स्थानीय समयअनुसार अपराह्न ४ बजे आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएको समाचारमा उल्लेख छ ।
ला रेपुब्लिकाका अनुसार रोम प्रान्तका कम्तीमा १२ विद्यालय, मिलान तथा लोम्बार्डी क्षेत्रका १२ विद्यालय र नेपल्स तथा क्याम्पानिया क्षेत्रका अन्य १२ विद्यालयलाई धम्कीपूर्ण इमेल पठाइएको थियो । त्यस्तै, उत्तरी इटालीका टुरिन, सानरेमो र भिचेन्जिया तथा दक्षिणी क्षेत्रका बारी, काग्लियारी र पालेर्मोका विद्यालय पनि निशानामा परेका थिए ।
इमेलमा प्रत्येक लक्षित विद्यालयमा शक्तिशाली विस्फोटक पदार्थ राखिएको र शिक्षा मन्त्रीको गाडीमा समेत बम राखिएको दाबी गरिएको थियो । प्रहरीले इमेलको स्रोत र धम्कीको विश्वसनीयताबारे अनुसन्धान गरिरहेको इटालीको समाचार संस्था एएनएसएले जनाएको छ ।
इमेल पठाउने समूहले आफूलाई ‘भिलायत मिसोजिनिस्तान’ नाम दिएको भए पनि उक्त समूहबारे सार्वजनिक रूपमा पर्याप्त जानकारी उपलब्ध छैन ।
लाजियो क्षेत्रको विद्यालय प्रधानाध्यापक संघकी प्रमुख क्रिस्टिना कोस्टारेलीले धम्कीले विद्यालयहरूमा त्रास फैलाएको बताएका छन् । उनले धम्कीको सत्यता पुष्टि नभए पनि यसले असामान्य त्रास सिर्जना गरेको प्रतिक्रिया दिएका छन् ।