पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध, तिहार मनाउन हिँडेका यात्रु अलपत्र

निरन्तर पहिरो खस्दा सडक खुलाउन कठिन, यात्रुलाई प्राथमिकता दिएर तत्काल बाटो खुलाउन आग्रह

काठमाडौं । पृथ्वी राजमार्गको घोप्टेभिरमा निरन्तर पहिरो खस्दा यातायात अवरुद्ध भएको छ। चितवनको इच्छाकामना गाउँपालिका-४ स्थित उक्त स्थानमा पहिरो खस्ने क्रम नरोकिएपछि तिहार मनाउन घरतर्फ लागेका यात्रुहरू बाटोमै अलपत्र परेका छन् ।

हिजो बिहान खसेको पहिरो केही समय हटाएर सडक खुलाइएको भए पनि साँझ करिब ९ बजेदेखि पुनः पहिरो खस्न थालेको हो । पहिरो निरन्तर खसिरहेका कारण सडकबाट ढुंगा र माटो हटाउन कठिनाइ भइरहेको छ ।

घोप्टेभिर मुग्लिन बजारबाट करिब तीन किलोमिटर मलेखुतर्फ पर्छ । यसअघि आइतबार पनि सोही क्षेत्रमा सुक्खा पहिरो खस्दा दिनको समयमा केहीबेर यातायात प्रभावित भएको थियो ।

सडक अवरुद्ध भएपछि तिहार मनाउन घर जाने क्रममा रहेका यात्रु बोकेका सवारीसाधन बाटोमै रोकिएका छन् । लामो समयसम्म सडक नखुल्दा यात्रुहरूले सास्ती खेप्नुपरेको छ ।

यसैबीच, यात्राकै क्रममा कुरिनटारमा रोकिएकी नेकपा एमालेकी नेतृ शान्ता चौधरीले सडक खुलाउन सरकारी निकायले पर्याप्त सक्रियता नदेखाएको भन्दै गुनासो गरेकी छन् ।

उनले घण्टौँदेखि चाडपर्व मनाउन घर जान हिँडेका यात्रुहरू अलपत्र परेको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराएकी छन् ।

‘चाडपर्व मनाउन घर जान हिँडेका यात्रुहरू घण्टौँदेखि कुरिनटारमा अलपत्र परेका छौँ । बाटो अवरुद्ध हुँदा यात्रुहरू अत्यन्त कष्टकर अवस्थामा बस्न बाध्य छौँ । तर, बाटो खुलाउन आवश्यक पहल र सक्रियता देखिएको छैन,’ उनले भनेकी छन् ।

चाडपर्वका बेला घर फर्किरहेका यात्रुलाई प्राथमिकतामा राखेर अविलम्ब सडक खुलाउने व्यवस्था मिलाउन पनि उनले सरकारसँग आग्रह गरेकी छन् ।

पहिरो निरन्तर खसिरहेका कारण सडक खुलाउने काम चुनौतीपूर्ण बनेको छ । यात्रुको सुरक्षा र सहज आवागमनलाई ध्यानमा राख्दै सम्बन्धित निकायले पहिरो नियन्त्रण तथा सडक सञ्चालनका लागि तत्काल प्रभावकारी कदम चाल्नुपर्ने देखिएको छ ।

Share News