पृष्ठभूमिमा चुच्चे नक्सा, अर्थमन्त्री र भारतीय विदेश सचिवको फोटोसूट

काठमाडौं । नेपाल र भारतबीच लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको सीमा विवाद कायमै रहेका बेला भारतीय विदेश सचिव विक्रम मिश्रीसँगको भेटमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको पृष्ठभूमिमा नेपालको चुच्चे नक्सा देखिएको छ । बुधबार अर्थ मन्त्रालयमा भएको भेटको तस्बिरमा नेपालको आधिकारिक चुच्चे नक्सा स्पष्ट देखिएपछि यसले धेरैको ध्यान खिचेको छ ।

नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव मिश्री र अर्थमन्त्री डा. वाग्लेबीच बुधबार शिष्टाचार भेटवार्ता भएको हो । भेटमा नेपाल र भारतबीचको आर्थिक सहकार्यका विभिन्न विषयमा छलफल भएको अर्थमन्त्रालयले जानकारी दिएको छ । भेटमा अर्थसचिव डा. घनश्याम उपाध्यायसहित परराष्ट्र र अर्थ मन्त्रालयका अधिकारीहरू सहभागी थिए ।

भेटवार्ताको तस्बिरमा दुवैजना नेपालको चुच्चे नक्सालाई पृष्ठभूमिमा राखेर बसेका छन् । उक्त नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रसमेत समेटिएको छ ।

नेपालले २०७७ जेठ ७ मा लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेको थियो । त्यसपछि संसद्ले संविधान संशोधन गरी उक्त नक्सालाई संविधानको अनुसूचीमा रहेको निशान छापमा समावेश गरेको थियो । भारतले भने नेपालको नयाँ नक्सालाई अस्वीकार गर्दै आएको छ । 


सीमा विवाद समाधानका लागि दुई देशबीच कूटनीतिक संवाद हुनुपर्ने आवाज उठ्दै आए पनि यो विषय अझै टुंगिएको छैन । गत मे महिनामा लिपुलेक हुँदै कैलाश मानसरोवर यात्रा सञ्चालन गर्ने भारतको योजनाप्रति नेपालले आपत्ति जनाएको थियो । त्यसपछि सीमा विवाद फेरि चर्चामा आएको थियो । 

भारतीय विदेश सचिव मिश्री दुईदिने नेपाल भ्रमणका क्रममा बुधबार काठमाडौं आएका हुन् । उनको भ्रमण प्रधानमन्त्री बालेन्द्र शाहको प्रस्तावित भारत भ्रमणको तयारी र दुई देशबीचको सम्बन्धका विभिन्न पक्षमा छलफल गर्न केन्द्रित रहेको छ । भ्रमणका क्रममा उनले परराष्ट्रमन्त्री शिशिर खनालसँग पनि भेटवार्ता गरेका छन् । खनालले पनि पृष्ठभूमिमा निशान छापमा चुच्चे नक्सा देखिने गरी तस्बिर खिचाएका छन् । 

उसो त अर्थमन्त्री वाग्लेको बैठक कक्षमा ठूलो चुच्चे नक्सा राखिएको छ । कुटनीतिज्ञहरुसँग तस्बिर खिचाउँदा उनले चुच्चे नक्सालाई पृष्ठभूमिमा पार्ने गरेका छन् ।
 

Share News