फ्रान्समा प्रदर्शनका क्रममा हिंसा भएपछि ७७९ जना पक्राउ

फाइल तस्बिर ।

काठमाडौं । फ्रान्समा लगातार तेस्रो सातासम्म जारी विरोध प्रदर्शनका क्रममा हिंसा भड्किएपछि प्रहरीले झन्डै ८०० जनालाई पक्राउ गरेको छ । 

शनिबार देशका विभिन्न सहरमा भएको प्रदर्शनमा ३ लाख २० हजारभन्दा बढी मानिस सहभागी भएका थिए ।

फ्रान्सको गृह मन्त्रालयका अनुसार अधिकांश प्रदर्शन शान्तिपूर्ण रहे पनि केही स्थानमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । त्यसपछि प्रहरीले देशभरबाट ७७९ जनालाई पक्राउ गरेको हो ।

प्रदर्शनका क्रममा केही समूहले प्रहरीमाथि ढुंगा, बोतल र पेट्रोल बम प्रहार गरेका थिए। प्रहरीले भिड नियन्त्रण गर्न अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको थियो । 

झडपका क्रममा तीन प्रहरी घाइते भएका छन् । हिंसाका क्रममा केही सवारीसाधन र पसलमा समेत क्षति पुगेको छ ।

प्रदर्शनलाई ध्यानमा राख्दै फ्रान्स सरकारले देशभर करिब ७० हजार सुरक्षाकर्मी परिचालन गरेको थियो । राजधानी पेरिसमा मात्रै करिब ७० हजार मानिस प्रदर्शनमा सहभागी भएको सरकारी तथ्यांक छ ।

पछिल्ला तीन सातादेखि फ्रान्समा लगातार प्रदर्शन हुँदै आएको छ ।  अक्टोबर १७ मा भएको पहिलो ठूलो प्रदर्शनमा ५ लाख ५० हजार र अक्टोबर २४ मा भएको दोस्रो प्रदर्शनमा ४ लाख १० हजार मानिस सहभागी भएका थिए । ती प्रदर्शनका क्रममा पनि तोडफोड र लुटपाटका घटना भएका थिए ।

विद्यालयको कमजोर पूर्वाधार, शिक्षक अभाव, विश्वविद्यालय भर्ना प्रणालीमा देखिएको असमानता र बढ्दो महँगीको विरोधमा सुरु भएको आन्दोलनमा पछिल्लो समय विभिन्न श्रमिक संगठन तथा सरकारप्रति असन्तुष्ट समूह पनि सहभागी भएका छन् ।

यसैबीच जर्मनीका ३० भन्दा बढी सहरमा पनि शनिबार युवाहरूले प्रदर्शन गरेका छन् । उनीहरूले शिक्षा, स्वास्थ्य, आवास र जलवायु संरक्षणमा सरकारी लगानी बढाउन तथा दैनिक जीवनयापन सहज बनाउन माग गरेका छन् ।

जर्मनीमा पनि अधिकांश प्रदर्शन शान्तिपूर्ण रहे पनि फ्र्यांकफर्ट, कोलोन र बर्लिनलगायत सहरमा राति हिंसा भड्किएको थियो । फ्र्यांकफर्टमा केही समूहले पसलमा तोडफोड र लुटपाट गर्नुका साथै प्रहरीमाथि ढुंगा र पेट्रोल बम प्रहार गरेका थिए । उक्त घटनामा ३० जनालाई नियन्त्रणमा लिइएको छ ।

युरोपका विभिन्न देशमा फैलिएको पछिल्लो प्रदर्शनमा युवाहरूको सहभागिता उल्लेख्य देखिएको छ ।

Share News