काठमाडौं । सारथी इक्विटी फण्ड लिमिटेडले आफ्ना सेयरधनीलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
कम्पनीको दोस्रो वार्षिक साधारण सभाले आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरण पारित गर्दै १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत रूपमा अनुमोदन गरेको हो ।
काठमाडौंको गौशालास्थित होटल बद्रीनाथमा सम्पन्न सभाले स्वतन्त्र सञ्चालकमा भवानी घिमिरे (थापा) को नियुक्तिलाई समेत अनुमोदन गरेको छ । साथै, आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने निर्णय पनि गरेको छ ।
कम्पनीका अध्यक्ष कृष्णप्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न सभामा कम्पनीको वित्तीय अवस्था, लगानी व्यवस्थापन तथा आगामी व्यावसायिक रणनीतिबारे छलफल भएको थियो । सभामा सेयरधनीहरूले राखेका जिज्ञासाको जवाफ कम्पनीका प्रबन्ध सञ्चालक कोषराज सुवेदीले दिएका थिए ।
सारथी इक्विटी फण्डले आगामी दिनमा लगानीका नयाँ अवसर पहिचान गरी सम्भावनायुक्त परियोजनामा पुँजी परिचालन गर्ने योजना बनाएको छ । कम्पनीले प्रभावकारी जोखिम व्यवस्थापन, पोर्टफोलियो विविधीकरण र दीर्घकालीन मूल्य अभिवृद्धिलाई प्राथमिकता दिने जनाएको छ ।
कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटलसम्बन्धी इजाजतपत्र लिएर लगानीको दायरा विस्तार गर्ने योजना पनि अघि सारेको छ ।
नवीन प्रविधिमा आधारित व्यवसाय, नवप्रवर्तनशील उद्यम तथा दिगो विकासको सम्भावना भएका क्षेत्रमा लगानी विस्तार गर्ने कम्पनीको रणनीति छ ।
सञ्चालक समितिमा ई. राजीव पौडेल र डा. हिमाल भट्टराईसमेत रहेका छन् । कम्पनीले सम्भावनायुक्त परियोजनामा लगानी बढाउँदै सेयरधनीलाई दीर्घकालीन प्रतिफल उपलब्ध गराउने लक्ष्य लिएको जनाएको छ ।