गोल्छा ग्रुपको नेओटेरिकले बेच्छ ३० ब्रान्डका १ हजार आइटम, आम्दानी ४.८६ अर्ब

काठमाडौं । सूचना प्रविधिसम्बन्धी उपकरणको आयात तथा वितरण गर्दै आएको नेओटेरिक नेपाल प्रालिको सञ्चालन आम्दानी एक वर्षमा ३९.४७ प्रतिशतले बढेर ४ अर्ब ८६ करोड ९० लाख रुपैयाँ पुगेको छ । कम्पनीले आर्थिक वर्ष २०८२/८३ मा उक्त आम्दानी गरेको हो ।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको सञ्चालन आम्दानी ३ अर्ब ४९ करोड १० लाख रुपैयाँ थियो । एक वर्षको अवधिमा आम्दानी १ अर्ब ३७ करोड ८० लाख रुपैयाँले बढेको हो । डेल, हायर र नोकियाका उत्पादन, विशेषगरी स्मार्टफोन तथा ल्यापटपको माग बढ्दा आम्दानीमा वृद्धि भएको कम्पनीले जनाएको छ ।

कम्पनीको आम्दानीमा पछिल्ला वर्षहरूमा उतारचढाव देखिएको छ । आर्थिक वर्ष २०८०/८१ मा ३ अर्ब ६६ करोड रुपैयाँ आम्दानी गरेको कम्पनीले २०७९/८० मा ३ अर्ब ५८ करोड ३० लाख रुपैयाँ कमाएको थियो । त्यस्तै, आर्थिक वर्ष २०७८/७९ मा ५ अर्ब ६२ करोड ६० लाख रुपैयाँ, आव २०७७/७८ मा ३ अर्ब ७८ करोड ८० लाख रुपैयाँ, आव २०७६/७७ मा २ अर्ब ३२ करोड ७० लाख रुपैयाँ र आव २०७५/७६ मा १ अर्ब ९२ करोड ९० लाख रुपैयाँ आम्दानी गरेको थियो ।

सन् २००४ अगस्टमा स्थापना भएको नेओटेरिक नेपाल सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रका उपकरणको आयात तथा वितरणमा संलग्न छ । कम्पनीले ३० भन्दा बढी अन्तर्राष्ट्रिय ब्रान्डका एक हजारभन्दा बढी प्रकारका उत्पादन बिक्री तथा वितरण गर्दै आएको छ । नेपालमा डेलका ल्यापटप तथा सर्भरको सबैभन्दा ठूलो वितरक रहेको कम्पनीले डेलका सम्पूर्ण उत्पादनको कारोबार गर्दै आएको छ । त्यस्तै, नोकियाका दूरसञ्चार उपकरणको आधिकारिक वितरकका रूपमा पनि काम गरिरहेको छ ।

कम्पनीले डेल टेक्नोलोजिज, डेल ईएमसी, नोकिया, हिकभिजन, लजिटेक र पिपुललिङ्कलगायतका ब्रान्डसँग वितरणसम्बन्धी सम्झौता गरेको छ । यसका अतिरिक्त आसुस, हायर र माइक्रोटेक्सलगायतका ब्रान्डका उत्पादन पनि बिक्री गर्दै आएको छ । विभिन्न ब्रान्डसँगको सहकार्य र विविध उत्पादन सूचीले कुनै एउटा ब्रान्डमा निर्भर रहनुपर्ने जोखिम कम गर्न सहयोग गरेको छ ।

कम्पनीसँग देशभर एक हजारभन्दा बढी वितरक तथा व्यावसायिक साझेदारको सञ्जाल छ । आफ्नै पाँचवटा बिक्री कक्ष तथा कार्यालयमार्फत ग्राहकलाई सेवा दिँदै आएको कम्पनीले वितरक र खुद्रा विक्रेतामार्फत व्यक्तिगत ग्राहकदेखि ठूला व्यावसायिक संस्थासम्म उत्पादन पुर्याउँदै आएको जनाएको छ ।

त्यस्तै, वल्र्डलिंक कम्युनिकेसन्स, नेपाल दूरसञ्चार कम्पनी, सुबिसु केबलनेट र भायानेट कम्युनिकेसनलगायतका दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायकलाई आवश्यक उपकरण तथा सामग्री आपूर्ति गर्दै आएको छ । कम्पनीले बैंक तथा वित्तीय संस्था, बहुराष्ट्रिय कम्पनी, सरकारी निकाय र ठूला व्यावसायिक प्रतिष्ठानलाई सूचना प्रविधिसम्बन्धी पूर्वाधार तथा प्राविधिक सहयोगसमेत उपलब्ध गराउँदै आएको छ ।

कम्पनीमा संस्थागत प्रवद्र्धकका रूपमा सामसङका उत्पादनको आधिकारिक आयातकर्ता तथा वितरक हिम इलेक्ट्रोनिक्स प्रालि रहेको छ । यसका साथै, नेपालको औद्योगिक क्षेत्रमा लामो इतिहास बोकेको गोल्छा समूहसँग आबद्ध व्यक्तिगत प्रवद्र्धकहरूको पनि संलग्नता छ ।

कम्पनीको व्यवस्थापन अध्यक्ष सञ्जय गोल्छाको मार्गदर्शनमा हुँदै आएको छ । उनी गोल्छा अर्गनाइजेसनका निर्देशकसमेत हुन् । सूचना प्रविधि क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव भएका गोल्छाले नियो सफ्टवेयर, नियो टेक्नोलोजिज, हुलास एजुकेसन र सक्षम टेक्नोलोजिजलगायतका कम्पनीको व्यवस्थापनमा पनि भूमिका निर्वाह गर्दै आएका छन् ।

आम्दानीसँगै कम्पनीको नाफा र नगद प्रवाहमा पनि सुधार आएको छ । आर्थिक वर्ष २०८२/८३ मा कम्पनीको खुद नाफा मार्जिन १.६८ प्रतिशत पुगेको छ भने कुल नगद आर्जन ९ करोड ९० लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो रकम ४ करोड ५० लाख रुपैयाँ थियो । ब्याज खर्च घट्नुले पनि नाफा तथा नगद प्रवाहमा सुधार ल्याउन सहयोग गरेको कम्पनीको भनाइ छ । 

यद्यपि, कम्पनीको पुँजी संरचनामा ऋणको भार उच्च छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ३ अर्ब ७९ करोड ४७ लाख रुपैयाँ ऋण लिएको छ । यसमध्ये ६१ करोड ९७ लाख रुपैयाँ दीर्घकालीन र ३ अर्ब १७ करोड ५० लाख रुपैयाँ अल्पकालीन ऋण रहेको छ । अघिल्लो अवधिमा कम्पनीको कुल ऋण ३ अर्ब ६८ करोड ७९ लाख रुपैयाँ थियो ।

कम्पनीका अनुसार आयातमा निर्भर रहनुपर्ने भएकाले आपूर्तिमा अवरोध आउन नदिन पर्याप्त मौज्दात राख्नुपर्ने हुन्छ । विविध उत्पादनको कारोबार गर्ने कम्पनीको मौज्दात व्यवस्थापन अवधि आर्थिक वर्ष २०८२/८३ मा १०५ दिन पुगेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो अवधि १०० दिन थियो । उपभोग्य वस्तुको कारोबार विस्तारले पनि चालु पुँजीको आवश्यकता बढाएको कम्पनीले जनाएको छ । 

प्रतिस्पर्धात्मक बजारमा ग्राहकलाई उधारो सुविधा दिनुपर्ने भएकाले रकम असुलीमा पनि समय लाग्ने गरेको छ । आर्थिक वर्ष २०८२/८३ मा ग्राहकबाट रकम उठाउन लाग्ने अवधि १६४ दिन रहेको छ । अघिल्लो वर्ष यस्तो अवधि १८९ दिन थियो । रकम असुलीको अवधिमा सुधार आए पनि मौज्दात व्यवस्थापन र चालु पुँजी परिचालनमा चुनौती कायमै छ ।

कम्पनीले आपूर्तिकर्ताबाट तीनदेखि छ महिनासम्मको उधारो सुविधा पाउँदै आएको छ । सामान खरिद गर्दा सामान्यतया एलसीको प्रयोग गरिन्छ । ग्राहकबाट रकम असुली, मौज्दात व्यवस्थापन र आपूर्तिकर्तालाई भुक्तानी गर्ने अवधिको समग्र प्रभावले कम्पनीको सञ्चालन चक्र लामो बनेको छ । आर्थिक वर्ष २०८२/८३ मा कम्पनीको सञ्चालन चक्र १५७ दिन रहेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो अवधि १७१ दिन थियो । 

कम्पनीले सामान खरिद गर्दा अमेरिकी डलरमा भुक्तानी गर्नुपर्ने भए पनि बिक्रीबाट प्राप्त हुने अधिकांश रकम नेपाली रुपैयाँमा हुन्छ । यसले गर्दा डलरको मूल्यमा हुने उतारचढावले आयात लागत र नाफाको मार्जिनमा प्रभाव पार्ने गरेको कम्पनीले जनाएको छ । कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा विदेशी मुद्रा विनिमयबाट १ करोड ६५ लाख ३० हजार रुपैयाँ नोक्सानी व्यहोरेको थियो ।

Share News