एनपीएलका लागि टेलिकमको ५९९ रुपैयाँको अनलिमिटेड प्याकेज

काठमाडौं । नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ लाई लक्षित गर्दै ‘एनपीएल अनलिमिटेड प्याकेज’ सञ्चालनमा ल्याएको छ । कम्पनीले प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्तालाई लक्षित गरी ५९९ रुपैयाँमा उक्त प्याकेज उपलब्ध गराएको हो ।

प्याकेजअन्तर्गत प्रयोगकर्ताले ३३३ मिनेट अल–नेट भ्वाइस कल गर्न पाउनेछन् भने प्रतिदिन ८ जीबी डाटा उपलब्ध हुनेछ । प्याकेजको समयावधि ३० दिनको रहने नेपाल टेलिकमले जनाएको छ ।

कात्तिक १० गतेदेखि मंसिर ५ गतेसम्म उक्त प्याकेज खरिद गर्न सकिनेछ । पोस्टपेड मोबाइल प्रयोगकर्ताले खरिद गरेको प्याकेजको शुल्क मासिक रेन्टल चार्जमै समावेश गरिने कम्पनीले जनाएको छ ।

प्याकेज लिन मोबाइलबाट *१४१५# डायल गर्न सकिनेछ। साथै नेपाल टेलिकमको एपमार्फत पनि प्याकेज खरिद गर्न सकिनेछ ।

नेपाल टेलिकम एनपीएल सिजन–३ को आधिकारिक टेलिकम पार्टनरसमेत रहेको छ । नेपाली खेलकुद क्षेत्रको विकासमा सहयोग पुर्याउने उद्देश्यले कम्पनीले विभिन्न गतिविधिमा सहभागिता जनाउँदै आएको जनाएको छ । 

Share News