दक्षिण कोरियामा ब्याट्री कारखानामा आगलागी प्रकरण : कम्पनीका प्रमुखलाई चार वर्ष कैद

काठमाडौं । दक्षिण कोरियाको सर्वोच्च अदालतले सन् २०२४ मा २३ जना श्रमिकको ज्यान लिने गरी भएको भीषण कारखाना आगलागी घटनामा लिथियम ब्याट्री उत्पादक कम्पनी ‘एरिसल’का प्रमुख कार्यकारी अधिकृत (सिइओ) पार्क सुन–क्वानलाई चार वर्षको जेल सजाय तोक्ने उच्च अदालतको फैसला मङ्गलवार अन्तिम रूपमा सदर गरेको छ ।

 राजधानी सोलबाट करिव ४५ किलोमिटर दक्षिणमा रहेको ह्वासङस्थित एरिसलको कारखानामा सन् २०२४ जुन २४ मा लिथियम ब्याट्री विस्फोट हुँदा भीषण आगलागी भएको थियो । उक्त दुर्घटनामा २३ जना श्रमिकको मृत्यु हुनुका साथै अन्य नौ जना घाइते भएका थिए । सर्वोच्च अदालतले कार्यस्थलमा आवश्यक सुरक्षा मापदण्ड पूरा नगरेको ठहर गर्दै सिइओ पार्कलाई ‘गम्भीर दुर्घटना सजाय ऐन’ उल्लङ्घन गरेको अभियोगमा दोषी ठहर गरेको हो । यसका साथै सर्वोच्चले एरिसलका तत्कालीन प्रमुख सञ्चालन अधिकृत (सिओओ) रहेका पार्कका छोरालाई सात वर्षको जेल सजाय र एरिसल कम्पनीलाई ८० करोड कोरियन वन (करिव ६ लाख २ हजार अमेरिकी डलर) जरिवाना गर्ने तल्लो अदालतको आदेशलाई पनि निरन्तरता दिएको छ । 

यसअघि जिल्ला अदालतले पार्कलाई १५ वर्षको कठोर कारावासको सजाय सुनाएको थियो । सन् २०२२ मा कोरियामा ‘गम्भीर दुर्घटना सजाय ऐन’ लागू भएयता जिल्ला अदालतले सुनाएको सो सजाय हालसम्मकै सबैभन्दा कडा मानिएको थियो । तर पुनरावेदन अदालतले कारखानाको प्रत्येक तलामा आपत्कालीन निकास द्वार निर्माण तथा मर्मतसम्भार सम्बन्धी विशेष अभियोगबाट सफाइ दिँदै सिइओ पार्कको जेल सजाय घटाएर चार वर्षमा झारेको थियो । 

सर्वोच्च अदालतले पनि पुनरावेदनकै सोही फैसलालाई कानूनी रूपमा अन्तिम ठहर गरेको हो ।  

Share News