चितवन । चितवन जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावलीबाट ३ हजार ३६२ जनाको नाम हटाएको छ । मतदाता नामावली अद्यावधिक कार्यक्रमअन्तर्गत दोहोरो दर्ता भएका, मृत्यु भएका र नागरिकता परित्याग गरेका व्यक्तिको नाम हटाइएको हो ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार हटाइएकामध्ये दोहोरो दर्ता भएका एक हजार ९४३ जना छन् । निर्वाचन आयोगको प्रणालीबाट जाँच गर्दा दोहोरो दर्ता भएको पुष्टि भएपछि उनीहरूको नाम मतदाता सूचीबाट हटाइएको हो ।
त्यस्तै, भदौ १२ गतेसम्म मृत्यु दर्ता भएका एक हजार ३८० जना र नागरिकता परित्याग गरेका ३९ जनाको नाम पनि सूचीबाट हटाइएको कार्कीले बताए ।
मृत्यु भएका मतदाताको हकमा सम्बन्धित वडा कार्यालय तथा मृतकका परिवारले कार्यालयमा दर्ता गराएको मृत्यु प्रमाणपत्रका आधारमा नाम हटाइएको हो । नागरिकता परित्याग गरेका व्यक्तिको नाम भने जिल्ला प्रशासन कार्यालयबाट प्राप्त विवरणका आधारमा हटाइएको उनले जानकारी दिए ।
गत फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनका बेला चितवनमा चार लाख ४२ हजार ८२ जना मतदाता थिए । फागुन २१ गतेको मतदानपछि जिल्लामा १३ हजार १३४ जना मतदाता थपिएको कार्यालयले जनाएको छ ।