काठमाडौं । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। प्रहरीले गाँजा तस्करीमा प्रयोग भएको एम्बुलेन्स फेला पारे पनि चालक र तस्करीमा संलग्न व्यक्ति फरार रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि इटहरीबाट विराटनगरतर्फ जाने कोशी राजमार्गमा गाँजा बोकेको एम्बुलेन्स गुडिरहेको सूचना प्राप्त भएको थियो।
सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दुहबी र सीआरभी दुहबीको संयुक्त प्रहरी टोलीले खोजतलास गर्ने क्रममा दुहबी–६ स्थित बूढी खोलाको किनारमा गाँजासहितको एम्बुलेन्स फेला पारेको हो।
प्रहरीका अनुसार ‘नेपाल–भारत सहयोग’ लेखिएको स्टिकर टाँसिएको ना.४ च ६०६३ नम्बरको एम्बुलेन्समा गाँजा भेटिएको थियो। एम्बुलेन्सका चालक र गाँजा तस्करीमा संलग्न व्यक्ति भने फरार छन्।
उक्त एम्बुलेन्स कुन संस्थाबाट सञ्चालन भएको थियो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ। एम्बुलेन्समा नक्कली नम्बर प्लेट प्रयोग गरिएको वा सामान्य सवारीसाधनलाई एम्बुलेन्सको स्वरूप दिएर प्रहरीलाई छल्ने प्रयास गरिएको हुन सक्ने आशंका प्रहरीले गरेको छ।
यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।