एभरेष्ट अस्पतालमा नागरिक लगानी कोषका सदस्यलाई उपचारमा २० प्रतिशतसम्म छुट

काठमाडौं । नागरिक लगानी कोष र एभरेष्ट अस्पताल प्रालिबीच कोषका सहभागी, कर्मचारी, उनीहरूका आश्रित परिवार तथा सदस्यलाई सहुलियत दरमा स्वास्थ्य सेवा उपलब्ध गराउने सम्झौता भएको छ ।

सम्झौतापत्रमा कोषका निमित्त कार्यकारी निर्देशक हेमन्त पोखरेल र अस्पतालका सहप्रशासक यादवप्रसाद ढुंगानाले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार कोषसँग आबद्ध कर्मचारी, सहभागी तथा उनीहरूका आश्रित परिवारका सदस्यले अस्पतालको बिल तथा परीक्षण सेवामा २० प्रतिशत छुट पाउनेछन् । त्यस्तै, शल्यक्रिया कक्ष (ओटी) र फार्मेसीको बिलमा १० प्रतिशत छुट उपलब्ध हुनेछ ।

तर बाह्य स्रोतबाट लिइने सेवा, चिकित्सकको परामर्श शुल्क, एम्बुलेन्स शुल्क तथा उपकरणमा भने छुट लागू हुने छैन ।

सम्झौताअनुसार अस्पतालले कोषका सक्रिय सहभागीलाई एम्बुलेन्स सेवा तथा विशेष स्वास्थ्य प्याकेज उपलब्ध गराउनुका साथै आवश्यकताअनुसार स्वास्थ्य शिविरसमेत सञ्चालन गर्नेछ । स्वास्थ्य शिविरमा सहभागी चिकित्सकका लागि आवश्यक प्रोत्साहनको व्यवस्था पनि गरिने सम्झौतामा उल्लेख छ ।

छुट सुविधा लिन कोषको परिचयपत्रका आधारमा कर्मचारी तथा सहभागीको पहिचान गरिनेछ । परिचयपत्र नभएका आश्रित परिवारका सदस्यको हकमा कोषले आवश्यक विवरण उपलब्ध गराउने वा अस्पताललाई अग्रिम जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ ।

सम्झौतामा दुवै संस्थाले सेवा प्रवाहका क्रममा प्राप्त हुने सूचना सुरक्षित र गोप्य राख्नुपर्ने उल्लेख छ । 

Share News