'उत्पादन बढाउने र पर्याप्त आम्दानी हुने रोजगारी सिर्जना गर्ने नीतिमा केन्द्रित हुनुपर्छ'

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गरिबी न्यूनीकरण, उत्पादन वृद्धि र पर्याप्त आम्दानी हुने रोजगारी सिर्जनालाई समृद्धिको मुख्य आधार बनाउनुपर्ने बताएका छन् ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा एमालेको नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक गर्दै ओलीले राजनीतिक तथा नीतिगत बहस नागरिकको जीवनस्तर सुधारमा केन्द्रित हुनुपर्ने धारणा राखेका हुन् ।

उनले जनताको जीवनस्तर उकास्ने, गरिबी हटाउने र विपन्नतालाई समृद्धिमा रूपान्तरण गर्ने लक्ष्य हासिल गर्न आम्दानीका स्रोत विस्तार तथा उत्पादन वृद्धि आवश्यक रहेको बताए ।

‘हाम्रो मुख्य उद्देश्य जनताको जीवनस्तर माथि उठाउनु, गरिबी हटाउनु र विपन्नतालाई समृद्धिमा रूपान्तरण गर्नु हो,’ ओलीले भने, ‘यसका लागि आम्दानीका स्रोत सिर्जना गर्ने, उत्पादन बढाउने र परिवारका आधारभूत आवश्यकता पूरा गर्न सक्ने रोजगारीका अवसर उपलब्ध गराउनेतर्फ ध्यान दिनुपर्छ ।’

ओलीले रोजगारीको वास्तविक मूल्य काममा बिताएको समयले मात्र नभई त्यसबाट प्राप्त हुने आम्दानीले निर्धारण गर्ने बताए । नागरिकलाई आर्थिक रूपमा सुरक्षित बनाउन पर्याप्त आम्दानी हुने रोजगारीका अवसर सिर्जना गर्नुपर्ने उनको भनाइ थियो ।

उनले नीतिगत छलफल र राजनीतिक गतिविधिलाई नागरिकको आर्थिक अवस्था सुधार्ने, उत्पादनशील क्षेत्र विस्तार गर्ने र परिवारको जीवनयापन सहज बनाउने विषयसँग जोड्नुपर्नेमा जोड दिएका छन् । 

Share News