म आरक्षणको विरोधी हुँ, योग्यताका आधारमा सिफारिस भएकी हुँ : मञ्चलाकुमारी झा

काठमाडौं । श्रीलङ्काका लागि प्रस्तावित नेपाली राजदूत डा. मञ्चलाकुमारी झाले आफू आरक्षणको विरोधी भएको बताएकी छन् ।

बुधबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा सांसदहरूले आरक्षणका आधारमा सिफारिस भएको हो? भन्ने प्रश्न उठाएपछि उनले यस्तो जवाफ दिएकी हुन् ।

आफू आरक्षणका आधारमा नभई योग्यताका आधारमा सिफारिस भएको उनले बताइन् । आफूले अर्थशास्त्र, अंग्रेजी शिक्षा, हिन्दी, राजनीतिशास्त्र तथा परराष्ट्र नीति र कूटनीतिमा स्नातकोत्तर र विद्यावारिधिसम्मको अध्ययन गरेको उनले उल्लेख गरिन् । आफूले अवसर आरक्षणभन्दा योग्यता र क्षमताका आधारमा प्राप्त गर्नुपर्छ भन्ने मान्यता राख्ने पनि उनले बताइन् ।

उनले भनिन्, ‘म आफ्नो शैक्षिक योग्यता, क्षमता र अनुभवप्रति विश्वस्त छु । अर्थशास्त्र, अंग्रेजी शिक्षा, हिन्दी, राजनीतिशास्त्र तथा परराष्ट्र नीति र कूटनीतिमा स्नातकोत्तर र विद्यावारिधिसम्मको अध्ययन गरेकी छु । साथै, सार्वजनिक विषयमा लेखन र विश्लेषणमार्फत पनि योगदान दिँदै आएकी छु । म अवसरलाई आरक्षणभन्दा योग्यता र क्षमताका आधारमा प्राप्त गर्नुपर्छ भन्ने मान्यता राख्छु । त्यसैले, आफ्नो नियुक्तिलाई पनि योग्यता र क्षमताका आधारमा मूल्याङ्कन गरियोस् भन्ने चाहन्छु ।’

उनले कूटनीतिक क्षेत्रमा प्रत्यक्ष अनुभवको कमी रहेको स्वीकार गरिन् । सैद्धान्तिक ज्ञानलाई व्यावहारिक अनुभवसँग जोड्दै जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न सक्नेमा आफू विश्वस्त रहेको उनले बताइन् । 

Share News