काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मधुकुमार चौलागाईंले श्रीलङ्काका लागि प्रस्तावित नेपाली राजदूत डा. मञ्चलाकुमारी झाको कार्यक्षमतामाथि प्रश्न उठाएका छन् ।
संसदीय सुनुवाइका क्रममा चौलागाईंले उनको कूटनीतिक अनुभव, विगतको कार्यसम्पादन र प्रस्तावित नियुक्तिमाथि प्रश्न उठाएका हुन् । सांसद चौलागाईंले डा. झाको प्राज्ञिक पृष्ठभूमि र सत्य निरूपण तथा मेलमिलाप आयोगको कार्यकाललाई लिएर असन्तुष्टि व्यक्त गर्दै कूटनीतिक क्षमतामाथि प्रश्न खडा गरे ।
सांसद चौलागाईंले प्रस्तावित राजदूत झाको बुद्ध सर्किट र नेपाल–श्रीलङ्काबीचको कूटनीतिक सम्बन्ध विस्तारको योजनाबारे स्पष्ट जवाफ माग गरे । उनले डा. झाको कार्यक्षेत्र मिथिला संस्कृतिमा मात्रै सीमित रहेको भन्दै समग्र बौद्ध कला र नेपालका अन्य महत्त्वपूर्ण धार्मिक क्षेत्रलाई समेट्न नसकेको आरोप लगाए ।
सांसद चौलागाईंले कूटनीतिक अनुभवको अभावलाई मुख्य चुनौतीका रूपमा औँल्याउँदै भारत र चीनको प्रभाव रहेको श्रीलङ्काजस्तो संवेदनशील मुलुकमा उनले कसरी राष्ट्रिय हितको रक्षा गर्न सक्छिन् भनी जिज्ञासा राखे । उनले राजदूत नियुक्तिसम्बन्धी निर्देशिकाको मापदण्ड र समावेशिताको नाममा गरिएका नियुक्तिको औचित्यमाथि समेत प्रश्न गरे ।
यसका साथै, सन् २०१५ देखि २०१९ सम्म सत्य निरूपण तथा मेलमिलाप आयोगमा रहँदा उनले द्वन्द्वपीडितलाई न्याय दिन नसकेको र मुद्दाहरू अलपत्र पारेको भन्दै सांसद चौलागाईंले उनको कार्यसम्पादनमाथि टिप्पणी गरे ।
उनले भने, ‘विगतमा द्वन्द्व व्यवस्थापनमा असफल देखिएको व्यक्तिले संवेदनशील संवैधानिक वा कूटनीतिक निकायमा कसरी अपेक्षित परिणाम दिन सक्छ?’
सार्क र बिमस्टेकको मञ्च प्रयोग गरेर क्षेत्रीय हित प्रवर्द्धन गर्ने तथा लुम्बिनी–श्रीलङ्काबीचको धार्मिक पर्यटन र हवाई उडानलाई अगाडि बढाउने ठोस कार्ययोजना पेस गर्न सांसद चौलागाईंले डा. झालाई चुनौती दिए ।