भगवती कम्पोजिटको १० प्रतिशत बोनस सेयर पारित

काठमाडौं । भगवती कम्पोजिट इण्डष्ट्रिज लिमिटेडको दोस्रो वार्षिक साधारणसभाले १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सभाले बोनस सेयर वितरणपछि २० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्तावसमेत अनुमोदन गरेको छ ।

चितवनको भरतपुर–७, कृष्णपुरस्थित होटल पौवामा सोमबार सम्पन्न साधारणसभाले कम्पनीको जारी पुँजी ४२ करोड रुपैयाँबाट बढाएर ७५ करोड रुपैयाँ पुर्याउने प्रस्ताव पनि पारित गरेको हो ।

सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण अनुमोदन गर्नुका साथै आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने र सञ्चालक समितिका सदस्यहरूको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पारित गरेको छ ।

कम्पनीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी नियामकीय स्वीकृति लिएपछि प्राथमिक सेयर (आईपीओ) निष्कासन प्रक्रिया अघि बढाउने जनाएको छ ।

भगवती कम्पोजिट इण्डष्ट्रिजले डब्लुपिसी ढोका, फ्रेम, वाल प्यानल तथा फाइबरजन्य सामग्री उत्पादन गर्दै आएको छ । 

Share News