काठमाडौं । दशैंमा उपभोक्तालाई ग्यास सिलिन्डर साट्न सहज होस् भनेर नेपाल एलपी ग्यास उद्योग संघले काठमाडौं उपत्यकामा साटफेर केन्द्रको संख्या बढाएको छ । आइतबार ६ स्थानबाट सुरु भएको सेवा सोमबारदेखि थप पाँच ठाउँमा विस्तार गरिएको हो ।
नेपाल आयल निगम र ग्यास बिक्रेता महासंघसँगको समन्वयमा संघले उपत्यकाका ११ स्थानबाट फरक कम्पनीका ग्यास सिलिन्डर साट्न सकिने व्यवस्था मिलाएको हो ।
संघका अनुसार सोमबारदेखि थपिएका केन्द्रमा बुढानीलकण्ठको चपलीस्थित भानु ग्यास, ललितपुरको हरिसिद्धिस्थित नेपाल र एचपी ग्यास, कलंकीस्थित गीता ग्यास, खसीबजारको आरके ट्रेडर्समार्फत सीताश्री ग्यास तथा सतुंगलस्थित श्रीमाया ग्यास रहेका छन् ।
यसअघि आइतबारदेखि नै ललितपुरको हरिसिद्धिमा श्रीराम ग्यास, कलंकीमा साइबाबा र श्रीकृष्ण ग्यास तथा सुकेधारामा बाबा र श्री ग्यासका सिलिन्डर साट्ने सुविधा उपलब्ध गराइएको थियो ।
त्यस्तै, बालाजु औद्योगिक क्षेत्रको गेटअगाडि नेपाल, एचपी, गीता, राजधानी र त्रिवेणी ग्यासका सिलिन्डर साट्न सकिनेछ । पेप्सीकोलास्थित केन्द्रबाट सगर ग्यास तथा सिफलचौरको ग्यास एन्ड अक्सिजन ट्रेडर्सबाट एभरेस्ट र सुगम ग्यासका सिलिन्डर साट्न सकिने संघले जनाएको छ ।
संघले सिलिन्डर साटफेर गर्ने अवधिसमेत एक दिन घटाएको छ । यसअघि असोज ३१ गतेसम्म सेवा सञ्चालन गर्ने भनिए पनि संशोधित व्यवस्थाअनुसार असोज ३० गतेसम्म मात्रै सिलिन्डर साट्न पाइनेछ ।
उपभोक्ताले तोकिएका केन्द्रमा हरेक दिन बिहान ११ बजेदेखि दिउँसो साढे ४ बजेसम्म पुगेर सेवा लिन सक्नेछन् । यसअघि बिहान ९ः३० बजेदेखि सेवा उपलब्ध गराउने सूचना जारी गरिएको थियो ।
संघले तोकिएका ११ केन्द्रबाहेक अन्य खुद्रा पसल वा स्थानबाट फरक कम्पनीका सिलिन्डर साट्न नमिल्ने स्पष्ट पारेको छ । त्यसैले उपभोक्ताले आफूले साट्न चाहेको ग्यास कम्पनीअनुसार सम्बन्धित केन्द्रमा पुग्नुपर्नेछ ।