बुढीगण्डकीमा बाढीले टाइम्स इनर्जीको आयोजनामा क्षति

काठमाडौं । बुढीगण्डकी नदीमा आएको लेदोसहितको बाढीले टाइम्स इनर्जी लिमिटेडले प्रवर्द्धन गरिरहेको ३४१ मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् आयोजनाको अस्थायी क्याम्प र पहुँचमार्गमा क्षति पुर्याएको छ । आयोजनामा कुनै मानवीय क्षति नभएको साहस ऊर्जा लिमिटेडले जनाएको छ ।

कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार असोज २५ गते आएको बाढीले गोरखाको चुमनुब्री गाउँपालिकास्थित आयोजनाको अस्थायी क्याम्प र पहुँचमार्गमा क्षति पुर्याएको हो । आयोजनामा कार्यरत सबै कर्मचारी सम्पर्कमा रहेको पनि कम्पनीले जानकारी दिएको छ ।

यसैबीच, साहस ऊर्जाले निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको ८६ मेगावाट क्षमताको सोलुखोला (दूधकोशी) जलविद्युत् आयोजनामा बाढीले क्षति पुर्याएको भन्ने समाचारको खण्डन गरेको छ ।

कम्पनीले सोलुखोला (दूधकोशी) आयोजनास्थलमा बाढी नआएको र आयोजनाका संरचनामा कुनै क्षति नभएको स्पष्ट पारेको छ । विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारमा सत्यता नरहेको भन्दै कम्पनीले ती सूचनालाई भ्रामक भनेको छ । 

Share News