काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि जारी मतगणनामा उपसभापतितर्फ डा. चन्द्रकान्त भण्डारी र विनोदकुमार चौधरीको अग्रता कायमै छ ।
महामन्त्रीतर्फ प्रदीप पौडेल र डा. डिला संग्रौला (पन्त) अगाडि देखिएका छन् ।
हालसम्म ३ हजार ४३५ मतगणना हुँदा खुलातर्फको उपसभापतिमा भण्डारीले १ हजार ६८६ मत प्राप्त गरेका छन् । उनलाई ई. मधु आचार्यले १ हजार ९० मतसहित पछ्याइरहेका छन् । उनीहरूबीच ५९६ मतको अन्तर छ ।
त्यस्तै, सुरेन्द्रराज पाण्डेले ९५५, गोविन्द भट्टराईले ९४१, धनराज गुरुङले ७१९, दीपक गिरीले ४९७ र प्रा. डा. चन्द्रमोहन यादवले २९९ मत प्राप्त गरेका छन् ।
समावेशीतर्फको उपसभापतिमा विनोदकुमार चौधरी ८९६ मतसहित अग्रस्थानमा छन् । उनका निकटतम प्रतिस्पर्धी जीवन परियारले ८२९ मत प्राप्त गरेका छन् । चौधरी र परियारबीच ६७ मतको अन्तर छ ।
यसैगरी, फरमुल्लाह मंसुरले ४६९, रञ्जित कर्णले २७० र सीता गुरुङले २५१ मत प्राप्त गरेका छन् ।
महामन्त्रीको खुलातर्फ प्रदीप पौडेलले फराकिलो अग्रता बनाएका छन् । उनले २ हजार ५५ मत प्राप्त गर्दा दोस्रो स्थानमा रहेका उदयशमशेर राणाले १ हजार १५९ मत पाएका छन् । उनीहरूबीच ८९६ मतको अन्तर छ ।
महामन्त्रीका अन्य उम्मेदवारमध्ये डा. सुनिलकुमार शर्माले ९३४, अमरसिंह पुन मगरले ८१९, गुरुराज घिमिरेले ६७८, नैनसिंह महरले ४२८, शंकर तिवारीले ८२ र डा. सन्तोष उपाध्यायले ४९ मत प्राप्त गरेका छन् ।
महिला महामन्त्रीतर्फ भने डा. डिला संग्रौला (पन्त) र महालक्ष्मी उपाध्याय (डिना) बीच प्रतिस्पर्धा देखिएको छ । संग्रौलाले १ हजार ५१७ मत प्राप्त गर्दा उपाध्यायले १ हजार ३९८ मत पाएकी छन् । उनीहरूबीच ११९ मतको अन्तर छ । अर्की उम्मेदवार रीता खनालले ३६५ मत प्राप्त गरेकी छन् ।