काठमाडौं । इजरायल पठाइदिने भन्दै ठगी गरेको आरोपमा थप एक जना पक्राउ परेका छन् । बिनिता खड्कालाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोले (सीआईबी) का प्रवक्ता अनुपम शमशेर जबराले जानकारी दिए ।
उनीविरुद्ध जाहेरी परेकाले पक्राउ गरेको उनले बताए । 'खड्काले लेनदेन कति गरेको थिइन त्यसबारेमा अनुसन्धानपछि खुल्दै जाला,' उनले भने,'अहिले भने तत्कालै खुलेको छैन ।'
पक्राउ परेकी खड्का कांग्रेसको जारी १५ औं महाधिवेशनमा केन्द्रीय सदस्यकी उम्मेद्वार छिन् । शुक्रबार मतदान चलिरहेको अवस्थामा उनी पक्राउ परेकी हुन् ।
यही प्रकरणमा सीआईबीले यसअघि ज्ञानबहादुर कार्की र शिवराम श्रेष्ठका साथै कांग्रेस नेता भरतप्रसाद चौलागाईं र दोलखाकी बालिका शिवाकोटी पक्राउ गरेको थियो।
यसअघि २ करोड ५० लाख ठगी गरेको उजुरीका आधारमा चौलागाई र दोलखा सिवाकोटी पक्राउ परिसकेका छन् । उक्त समूहले प्रधानमन्त्रीको सचिवालयका ती व्यक्तिलाई प्रतिव्यक्ति ५ लाख रुपैयाँ बुझाउनुपर्ने भन्दै उम्मेदवारहरूसँग प्रतिव्यक्ति ६ लाख २० हजार रुपैयाँका दरले रकम उठाएका छन् ।