काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको भारत भ्रमणको मिति तय नभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयले भ्रमणको तयारी भइरहेको र नेपाल तथा भारत दुवै पक्षलाई अनुकूल हुने समयमा भ्रमण तय गरिने स्पष्ट पारेको छ ।
शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले प्रधानमन्त्री शाहको उच्चस्तरीय भारत भ्रमणबारे गृहकार्य भइरहेको जानकारी दिए ।
उनका अनुसार भ्रमणको मिति दुवै देशको अनुकूलतालाई ध्यानमा राखेर तय गरिनेछ । यद्यपि, भ्रमण कहिले हुने भन्नेबारे अहिलेसम्म टुंगो लागिसकेको छैन ।
यसअघि परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा दुई देशबीच आपसी हित र सहकार्यका विभिन्न विषयमा छलफल गर्ने गरी एजेन्डा तयार पारिरहेको जनाएको थियो ।
नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने तथा पारस्परिक हितका विषयमा सहकार्य अघि बढाउने उद्देश्यसहित भ्रमणको तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।